BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रमा देखियो चाँदीको घेरा, आयात निर्यातको तथ्यांकले जगायो निजी क्षेत्रमा आशा

२०८२ असार ६

अर्थतन्त्रमा देखियो चाँदीको घेरा, आयात निर्यातको तथ्यांकले जगायो निजी क्षेत्रमा आशा
अर्थतन्त्रमा देखियो चाँदीको घेरा, आयात निर्यातको तथ्यांकले जगायो निजी क्षेत्रमा आशा

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले देशको अर्थतन्त्र लयमा फर्किएको संकेत गरेको छ। आयात निर्यातमा बढोत्तरीलाई निजी क्षेत्रले तीन वर्षदेखि शिथिल बजारमा आर्थिक गतिविधि बढेको रुपमा लिएको छ।

Tata
GBIME
Nepal Life

जेठसम्म १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। यही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको सामग्री नेपालले निर्यात गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्ष ११ महिनामा पोहोरको सोही अवधिको तुलनामा आयात १३ प्रतिशत तथा निर्यात झण्डै ७८ प्रतिशतले बढेको हो।

यो वर्ष वैदेशिक व्यापारको समग्र आकार पनि बढेको छ। गत आवको ११ महिनामा १५ खर्ब ९३ अर्बको व्यापार हुँदा अहिले १८ खर्ब ९१ अर्बभन्दा माथि पुगेको छ।

आयात र निर्यात दुवैमा भएको यो उल्लेखनीय वृद्धिले आन्तरिक माग बढेको प्रष्ट हुन्छ। जानकारहरू यसले उपभोगमा भएको वृद्धि, आन्तरिक माग र पूर्वाधार परियोजनाहरूमा लगानी बढेको देखिने बताउँछन्।

पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझा आयातमा वृद्धिलाई देशको अर्थतन्त्रमा देखिएको सकारात्मक परिवर्तनको सूचक मान्नुपर्ने बताउँछन्।

‘एकै वर्ष वा महिनाको तथ्यांकलाई हेरेर समग्र मूल्यांकन गर्न सकिँदैन। तर, आयातको वृद्धिले आन्तरिक आर्थिक गतिविधि बढेको र उपभोग क्षमतामा सुधार आएको देखाउँछ। पूर्वाधार परियोजनामा भएको लगानी पनि यसमा देखिन्छ। यो अर्थतन्त्र चलायमान भएको संकेत हो,’ उनले भने।

चालु आर्थिक वर्ष जेठमा १ खर्ब ७० अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

यो वर्ष एकै महिनामा यति ठूलो आयात भएको यो पहिलो पटक हो। चालु आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब, फागुनमा १ खर्ब ५७, चैतमा १ खर्ब ६४ अर्ब र चैतमा १ खर्ब ६४ अर्ब ६५ करोडको आयात रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक छ।

पुसयता फागुनलाई अपवाद मान्ने हो भने हरेक महिना १ खर्ब ६० अर्ब रुपैयाँ माथिको आयात भएको छ। यसले बजारमा माग बढेको भन्नेहरुलाई बल पुग्छ।

कृषि उपजकै लागि विदेशमा भर पर्नुपर्ने नेपालको अर्थतन्त्र आयातमुखी हो। चालु वर्ष धान चामलकै आयात ८५ प्रतिशतले बढेको छ। ११ महिनामा ३७ अर्ब ४९ करोड रुपैयाँको धान चामल भित्रिएको छ।

तर, निर्यातको तथ्यांकलाई भने ओझाले सकारात्मकरुपमा लिएका छैनन्। निर्यातको शीर्ष सूचीमा रहेका वस्तु नेपालका आन्तरिक उत्पादन नभएकाले धेरै उत्साहित हुन नहुने उनको भनाइ छ।

‘अस्ट्रेलिया, इटलीजस्ता देशबाट ल्याइएको सोयाबिन र सूर्यमुखी तेल बचेर निर्यात बढेको देखिनु सुखद होइन। यसले उत्पादनको हिसाबले अर्थतन्त्रमा कुनै सुधारको अर्थ बोक्दैन। नेपालको आफ्नै उत्पादन निर्यात भएको भए पो खुशी मनाउनु,’ उनले भने।

ओझाले भनेजस्तै ११ महिनाको अवधिमा भएको निर्यातमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ। भटमास तेल ११ महिनामा ९३ अर्ब ५० करोड रुपैयाँ र सूर्यमुखी तेल ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ। जसको नेपालमा उत्पादन नगन्य छ। व्यापारीहरुले भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ विदेशबाट ल्याइ प्रशोधन गरेर भारतमा निर्यात गरेका हुन्।

नेपालले ११ महिनामा ९ अर्ब ७८ करोड रुपैयाँ बराबरको कार्पेट बेचेको छ। अलैंची, रोल्ड आइरन/स्टीलको निर्यात २२ अर्ब हाराहारीको छ। यी वस्तुहरू भने नेपालमै उत्पादन भएका हुन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल निर्यातमा भएको वृद्धिलाई उत्साहजनक नै मान्नुपर्ने धारणा राख्छन्। ‘यसले नेपाली उद्योगहरूले उत्पादन क्षमता बढाएको र नेपालमा अन्तर्राष्ट्रिय माग पनि बढाएको देखाउँछ। कृषिजन्य उत्पादन र केही सेवाजन्य वस्तुहरूको निर्यातमा सुधार आएको छ। यसलाई स्थिर राख्न सक्नुपर्छ,’ उनले भने।  

सरकारले निर्यातमुखी उद्योगहरूलाई दिएको प्रोत्साहन र व्यवसायीहरूको प्रयासको परिणाम देखिन थालेको भन्दै अग्रवालले भने, ‘तर निर्यातको यो छलाङ यही वर्षमा मात्रै हुनु भएन। यसलाई स्थायित्व दिने हो भने दीर्घकालमै मुलुकको व्यापार घाटा घटाउन महत्वपूर्ण सहयोग पुग्नेछ। यसका लागि निजी क्षेत्र र सरकार सँगसँगै हिँड्नुपर्‍यो।’

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले आन्तरिक अर्थतन्त्रमा देखिएको सुधारसँगै चोरी निकासीमा गरिएको नियन्त्रण, भन्सार विन्दुमा गरिएको सहजीकरण, प्रविधिको प्रयोग लगायतले आयात, निर्यात दुवैमा महत्त्वपूर्ण फड्को देखिएको बताए।

‘खुला सीमाका कारणा चोरीनिकासी सबैभन्दा ठूलो समस्या बनेको छ। यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकियो भने थप सुधार देखिन्छ। हाम्रो ध्यान त्यता गएको छ,’ उनले भने।