काठमाडौं। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति चर्को असन्तुष्टि जनाउँदै मन्त्रीसामु मधेश प्रदेश नेपालमा पर्दैन? भनेर प्रश्न गरेका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसामु मधेशका जनता नेपाली होइनन्? भनी प्रश्न गरे।
‘बजेटमा किन काखा र पाखा गरियो? किन भेदभाव गरियो? किन मन्त्रीज्यूहरु क्षेत्रमुखी हुनुभयो? पदाधिकारी र ठूलाबडाका क्षेत्रलाई मात्र प्राथमिकता दिइयो। म सत्तारुढ दलको सांसद भएको नाताले अरुले जस्तो बजेट त च्यात्दिन, तर मेरो ठूलो असन्तुष्टि छ। बजेटप्रति दु:ख लागेको छ,’ उनले भने ‘१६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। तर लक्ष्य पूरा गर्ने बजेट हात्तीको मुखमा जीरा जस्तै छ। बजेट जम्मा ३ अर्ब ५६ करोड मात्र छुट्याइएको छ। जबकि तिर्नुपर्ने दायित्व नै १५ अर्ब छ।’
सांसद यादवले धनुषा र सिरहा जोड्ने कमला नदी पुलका लागि बजेट नछुट्याइएको तथा चालु र गत वर्ष रातो किताबमा परेका पुल यसपालि कटौती गरिएको भन्दै चर्को आक्रोश पोखे।
‘धनुषा र सिरहा जोड्ने कमला नदी पुल २०७८ मा भासियो। के मधेश प्रदेश नेपालमा पर्दैन? मधेशका जनता नेपाली होइनन्? त्यो पुलमा किन आँखा गएन? किन बजेट छुट्याइएन?,’ यादवले प्रश्न गर्दै भने, ‘शहीद नगर नगरपालिका र औरही गाउँपालिकाका दुई वटा पुल यसअघि नै रातो किताबमा परेका थिए। भौतिक पूर्वाधारमन्त्रीले यसपालि किन काट्नुभयो? तपाइँलाई के दु:ख दिएको थियो। त्यहाँका जनता नेपाली होइनन्?’