काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेटको चर्को आलोचना गरेका छन्। उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बजेट डरलाग्दो भुसको आगोजसरी आएको बताए।
‘बजेटबारे बडो खुशीका साथ कुरा राखौंला भन्ने थियो। तर, बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो। बजेटले नेपाली जनतालाई देखेन। न विकासमैत्री भयो, न लगानी मैत्री भयो, न त सरकार पक्षीय सांसदमैत्री भयो,’ उनले भने, ‘यो केवल भयो सत्ताधारीमैत्री। जो जो मन्त्री र प्रधानमन्त्री छन्, उनीहरुमैत्री भयो।’
सांसद गिरीले मन्त्रीहरुमाथि देश विकासलाई भन्दा प्रधानमन्त्रीलाई खुशी तुल्याउने गरी योजना समावेश गरेको बताए।
‘कटुताका साथ भन्छु संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत झापाको एउटै निर्वाचन क्षेत्रमा ११ वटा योजना। धिमाल जाती होमस्टे निर्माण, क्रियापुत्री भवन, दमक पार्क सबै झापै झापा, त्यो पनि एउटै निर्वाचन क्षेत्रमा,’ उनले भने, ‘बजेट बडो डरलाग्दो भुसको आगो लागेजसरी आएको छ।’
सांसद गिरीले दाङको टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न आफूले ७० देखि ९० करोड रुपैयाँ बजेट प्रस्ताव गरेकामा जम्मा एक करोड रुपैयाँ विनियोजन गरिएको भन्दै चर्को असन्तुष्टि पोखे।
‘टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न ७० देखि ९० करोड चाहिन्छ भनेको थिएँ। तर एक करोड छुट्याइएको छ। जनताको प्रतिनिधिलाई नंग्याउन खोजेको हो?,’ उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्रीलाई मैलेके अब अभिन्नदन गरौं?’
उनले बजेटले गठबन्धन बिर्सिएको बताए।