काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। बिहीबार नेप्से सूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा आएको छ। कारोबार रकम भने बढेको छ।
कारोबारमा आएका सबै समूहको सूचक घटेका छन्। व्यापार समूहको सूचक सर्वाधिक २.४७ प्रतिशतले ओरालो लागेको छ। २०१ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्।
पियोर इनर्जी, रसुवागढी हाड्रोपावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। यसअघि पियोर इनर्जी दोस्रो बजार कारोबारमा आएयता लगातार मूल्य उच्च हुँदै आएको थियो।
४७ कम्पनीको सेयरमूल्य बढेको छ। पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजार सूचक दोहोरो अंकले घटे पनि कारोबार रकम बढेको छ। बजारमा बुधबार ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार त्यसलाई पछि पार्दै ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
ङादी ग्रुप पावरको सर्वाधिक ८५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, बुटवल पावर कम्पनीको ५८ करोड र सिंगटी हाइड्रोपावरको ४७ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।