BIZMANDU
www.bizmandu.com

आइएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम कारोबार स्वीकृति

२०८२ असार ४

आइएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम कारोबार स्वीकृति
आइएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम कारोबार स्वीकृति

काठमाडौं। आइएमई पे र खल्तीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरिएको छ। दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो पहिलो पटक हो।

Tata
GBIME

एकीकृत कारोबारपश्चात आधिकारिक रुपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने आइएमई पेले विज्ञप्तिमार्फत जानकारी दिएको छ। संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी ३ महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रुपमा चल्ने बताइएको छ। यद्यपि, दुवै एप यथावत रुपमा संचालनमा रहने छन्। दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गरिने बताइएको छ।

‘खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ। नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन्। हालसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन्।

आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन्। यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको छ।

खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ। एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन्। साथै, भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुनेछ।