काठमाडौं। उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक गठनको करिब दुई महिनापछि बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले वैशाख ८ गते आयोग गठन गरेकामा पहिलो बैठक बुधबार बसेको हो।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
आयोग गठन गरिएकामा त्यतिखेरै आलोचना भएको थियो। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको र सुशासन कायम गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाटै निर्णय गर्न सक्ने अवस्थामा कानुनी आधारविना ओलीले आफ्नै अध्यक्षतामा आयोग गठन गरेकामा सुशासन मामिलाका जानकारहरुले प्रश्न उठाएका थिए।
ओलीले आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिलाई पनि सदस्य बनाउने भएका छन्। १५ सदस्यीय आयोग अहिले अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सदस्य छन्।