नयाँ दिल्ली। अमेरिकी उद्योगी एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई भारतले इजाजतपत्र दिएको छ। प्रक्रिया अघि बढाएको स्टारलिंकले अब भारतमा सेटलाइटबाट उच्च गतिको इन्टरनेट सेवाको व्यापार सुरु गर्ने भएको छ।
यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन्। सेटलाइट प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिंकको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिंकका मालिक, स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताएका छन्। ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भन्नुभएको छ,’ सिन्धियाले मंगलबार मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एउटा पोस्टमा भनेका छन्।
भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेका थिए। उनीहरुको घोषणापछि स्पेसएक्स सोझै भारतमा आएको हो।
स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन्। भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएको देखिए पनि इभी निर्माता टेस्लाले पनि बजार प्रवेशको तयारी गरिरहेको छ। -एएफपी/रासस