BIZMANDU
www.bizmandu.com

आयात बढ्न थालेसँगै बैंकहरुको कर्जा लगानीमा सुधार, अर्थतन्त्रमा पुग्ला टेवा ?  

२०८२ असार ४

आयात बढ्न थालेसँगै बैंकहरुको कर्जा लगानीमा सुधार, अर्थतन्त्रमा पुग्ला टेवा ?  
आयात बढ्न थालेसँगै बैंकहरुको कर्जा लगानीमा सुधार, अर्थतन्त्रमा पुग्ला टेवा ?  

काठमाडौं। आयातमा वृद्धिको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा देखिएको छ। चालु आर्थिक वर्ष आयात १३ प्रतिशतले उकालो लाग्दा कर्जा लगानी ७ प्रतिशतभन्दा धेरै बढेको छ।

Tata
GBIME

यो आर्थिक वर्ष १० महिनामा आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात हुँदा बैंक तथा वित्तीय संस्थाहरुबाट ३ खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी भएको छ। आयात कर्जा ५८ प्रतिशतले बढेको बैंकरहरुले बताएका छन्।

चालु आर्थिक वर्ष सुरुवाती महिनामा मासिक १ खर्ब ३० अर्ब हाराहारीको आयात भएकामा पछिल्लो केही महिना आयात १ खर्ब ६० अर्ब माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी पछिल्लो समय आयात निरन्तर बढिरहेकाले त्यसले कर्जा बढाउन मद्दत गरेको बताउँछन्।

‘हाम्रो अर्थतन्त्र नै आयातमुखी छ। हामीले उपभोग गर्ने धेरैजसो सामग्री आयात हुन्छन्। निर्माणका लागि आवश्यक कच्चा पदार्थ लगायत उपकरण र अन्य कच्चा पर्दाथको आयात बढेकाले कर्जा लगानी पनि विस्तार भएको हो,’ उनले भने, ‘पछिल्लो समय उपभोग क्षेत्रमा गएको कर्जा घर निर्माणमा पनि खर्च गरिरहेको देखिन्छ। यसले सिमेन्ट, डन्डी, ढुंगा, बालुवा लगायत निर्माण सामग्रीको माग बढ्नुका साथै रोजगारी सृजनामा सहयोग पुग्छ।’

आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यसपछि आयात निरन्तर घट्दा कर्जा लगानी समेत खुम्चिन पुगेको थियो।

आर्थिक वर्ष २०७९/८० को १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको वस्तु आयात हुँदा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४१ अर्ब ४७ करोड र २०८०/०८१ को १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको आयात हुँदा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका थिए।

पछिल्लो चार वर्षको पहिलो १० महिनाको आयात र कर्जा लगानीको अवस्था

आर्थिक वर्षकर्जा लगानी (रु. करोडमा)आयात रकम (रु. करोडमा)
२०८१/८२३५९५२१४७४१८
२०८०/८१२३३३०१३०३३५
२०७९/०८०१४१४७१३३५३२
२०७८/०७९५५२०९१६०४६५
स्रोत : नेपाल राष्ट्र बैंक

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेय पछिल्लो तीन/चार महिनायता निरन्तर आयात बढेकाले त्यसले कर्जा लगानी विस्तारमा सहयोग पुगेको बताउँछन्।

‘मौद्रिक नीतिले लिएको १२ प्रतिशतको टार्गेट मिट नहुने नभए पनि क्रेडिट ग्रोथ ७ प्रतिशत माथि छ। आयात बढ्दा त्यसले क्रेडिडको ग्रोथ बढाएको हो,’ पाण्डेयले भने, ‘कर्जा लगानी बढेको प्रभाव बजारमा पनि देख्न सकिन्छ। आर्थिक गतिविधि विस्तारै बढिरहेको छ।’