BIZMANDU
www.bizmandu.com

रसुवामा ११ महिनामा ४२ हजार पर्यटक, आकर्षण गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा

२०८२ असार २

रसुवामा ११ महिनामा ४२ हजार पर्यटक, आकर्षण गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा
रसुवामा ११ महिनामा ४२ हजार पर्यटक, आकर्षण गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा

रसुवा। लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढेका छन्। तीर्थस्थल दर्शन, निकुञ्जसहित हिमाल तथा पहाड हेरेर रमाउन र तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेका छन्।

Tata
GBIME

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका रेञ्जर केशव ढोडारीका अनुसार गत साउनदेखि जेठ मसान्तसम्ममा स्वदेशी ३० हजार ७५० र ११ हजार ४८० विदेशी नागरिक रसुवा जिल्ला घुम्न आएको तथ्यांक छ।

गत आर्थिक वर्ष रसुवा घुम्न आएका पर्यटकको सङ्ख्या ३२ हजार ५९७ थियो। आन्तरिक पर्यटक लाङटाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा नुहाएर फर्कन्छन्। काठमाडौंबाट नजिकको पर्यटकीयस्थल रसुवामा विशेषतः तीर्थयात्रीसहित युवा उमेरका पर्यटक घुम्न आउँछन्।

निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत रु ४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। निकुञ्ज प्रवेश शुल्क नेपालीलाई प्रतिव्यक्ति १००, सार्क राष्ट्रका नागरिकलाई १५ सय र अन्य देशका पर्यटकलाई तीन हजार रुपैयाँका दरले लिने गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले बताए।

यसैगरी, ‘मानसरोवर कैलास’ यात्राका लागि २ हजार ९५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको ल्हासा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन्। रासस