काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बजेट निर्माण प्रक्रियाप्रति नै असन्तुष्टि जनाएका छन्।
उनले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालले काठमाडौंमा गरेकोकार्यक्रममा मन्त्रालयमा जो आएर माग्दा पनि योजना दिने गलत संस्कृति रहेको र त्यही कारण भनेजस्तो विकास हुन नसकेको बताए।
‘हामीसँग विभिन्न प्रतिष्ठान छन्। संस्कृति मन्त्रालय छ। भएको कुरा लथालिंग छन्। योजना बनाउँदा यसरी आउँछन् कि हुँदैन भनेर भन्नै नसक्दा रहेछौं,’ मन्त्री पाण्डेले भने, ‘वडाध्यक्ष आउँदा पनि हुन्छ भन्दिँदा रहेछौं। भ्रातृ संस्थाका सदस्य आउँदा पनि हुन्छ भन्दिँदा रहेछौं। योजना त बनाउने होइन रहेछ। माग्ने रहेछ।’
उनले योजना तर्जुमामा रहेको विकृति अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताए।