काठमाडौं। लुभ्र होटल्स समूह अन्तर्गतको प्रमुख व्यवस्थापन कम्पनी सरोवर होटल्सले ललितपुरको ग्वार्कोमा ‘रोयल टुलिप काठमाडौं’ होटल सञ्चालनमा ल्याएको छ।
यो होटल देशकै सबैभन्दा ठूलो होटल र राजधानीको सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने लक्ष्यका साथ सुरु गरिएको ‘ल्यान्डमार्क’ परियोजना हो।
द म्यासिफ होटल प्रालिले विकास गरेको यो योजनाले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रोयल टुलिप ब्रान्डलाई नेपालमा भित्र्याएको छ। ब्रान्डले उच्चस्तरको आतिथ्यता र नेपाली संस्कृतिको ऊर्जालाई एउटै ठाउँमा जोडेको छ।
लुभ्र होटल्स समूहको प्रिमियम ब्रान्ड पोर्टफोलियोमा पर्ने रोयल टुलिपलाई परिष्कृत भव्य, उच्च सुविधाहरू र विश्वस्तरीय सेवाको पर्याय मानिन्छ।
होटल रिङरोडको छेउमै छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३.५ किलोमिटर टाढा छ। होटलमा ३०८ वटा कोठा र सुइट छन्। कोठा संख्याका हिसाबले यो नेपालकै सबैभन्दा ठूलो होटल बनेको छ।
व्यापारिक र मनोरञ्जन दुवै प्रयोजनका लागि डिजाइन गरिएको होटलले आधुनिक आवास तथा सुविधाहरू र सहज पाहुना अनुभव प्रदान गर्ने बताइएको छ।
रोयल टुलिपमा चार श्रेणीका ३०८ कोठासँगै काठमाडौंको सबैभन्दा ठूलो सम्मेलन केन्द्र छ। ३० हजार वर्गफिटभन्दा बढी बहुउद्देश्यीय कार्यक्रम स्थल रहेको होटलमा झण्डै ११ हजार वर्गफिटका दुई विशाल सभाहल, ६ वटा मिटिङ हल र ब्रेकआउट एरिया छन्।
८०० वर्गफिटको सानो बोर्डरूमदेखि फैलिएको बलरूमसम्मका अप्सन छन्। होटलको ६०० कार अट्ने पार्किङ क्षेत्र छ। अन्तर्राष्ट्रिय सम्मेलन, कूटनीतिक सत्कार, डेस्टिनेसन वेडिङ, प्रदर्शनी र ठूला कर्पोरेट कार्यक्रमसम्म सबै आयोजना गर्न होटल सक्षम रहने व्यवस्थापनले जनाएको छ।
होटलले सुरुवाती चरणमा १०४ वटा कोठा संचालनमा ल्याएको छ। साथै, २ उत्कृष्ट एफ एन्ड बी आउटलेट खुला गरिएको छ।
पुरै दिन संचालन हुने रेस्टुराँ ललितपुर क्याफेमा प्राकृतिक प्रकाश र न्यानो आतिथ्यले प्रत्येक भोजनलाई विशेष बनाउने होटलको दाबी छ। त्यस्तै, द अल्पाइन लाउन्ज एन्ड बारमा पाहुनाले ककटेल, उत्कृष्ट वाइन र प्रिमियम स्पिरिटसँगै लाइभ म्युजिक र आधुनिक माहोलको मजा लिन सक्छन्।
द म्यासिफ होटल प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले रोयल टुलिप काठमाडौंको ढोका खोलेकोमा आफू अत्यन्त खुशी भएको बताए। ‘सबैभन्दा धेरै कोठा र सहरकै सबैभन्दा विस्तृत इभेन्ट सुविधा भएको यस परियोजनाले नेपालमा आतिथ्यताको स्तर रूपान्तरण गर्नेछ,’ उनले भने।
त्यस्तै, सरोवर होटल्सका अध्यक्ष तथा लुभ्र होटल्स इन्डियाका निर्देशक अजय के. बकायाले रोयल टुलिप काठमाडौं दक्षिण एसियामा आफूहरूको ब्रान्ड विस्तारको साहसी योजना भएको बताए। यो नेपालमा हालसम्मकै ठूलो मात्र नभई उच्च गुणस्तरको आतिथ्यता र ठूलो आकारका कार्यक्रम स्थलप्रति बढ्दो मागलाई पूरा गर्ने रणनीतिक प्रतिक्रिया पनि रहेको पनि उनको भनाइ छ।
उनले भने, ‘यसले तीव्र गतिमा बढिरहेको बजारमा हाम्रो उपस्थिति मजबुत पार्छ र अन्तर्राष्ट्रिय मापदण्ड नेपालजस्ता सम्भावनायुक्त गन्तव्यमा ल्याउने हाम्रो प्रतिबद्धता प्रमाणित गर्छ।’
उद्घाटनसँगै लुभ्र होटल्स समूहले दक्षिण एसियामा आफ्नो पोर्टफोलियो अझ सबल बनाएको छ। समूहले नेपालजस्ता गतिशील र उच्च विकास सम्भावना भएका बजारमा प्रिमियम आतिथ्य अनुभव पुर्याउने आफ्नो योजनालाई अझ सुदृढ पारेको जनाएको छ।