काठमाडौं । कुनै कुरा संसदमा निर्णयार्थ प्रस्तुत गर्दा सामान्यत: ‘हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ भनेर ध्वनी मतका आधारमा निर्णय लिइन्छ। हुन्न भन्नेको आवाज जतिसुकै चर्को भए पनि सभामुखले सुन्दैनन् र सत्ता पक्षको मतलाई स्वीकृत गर्छन्। किनकि सत्ता पक्षसँग बहुमत हुन्छ भन्ने मान्यता राखिन्छ।
निर्णयका बेला मात्रै होइन अवरोधकाबीच पनि संसद् चलाउने या नचलाउने भन्नेमा सभामुख देवराज घिमिरेले यस्तै शैली अपनाएका छन् अहिले।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा(एमाले)को आवाज सुनेका सभामुखले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आवाज सुनेन्। जसप्रति रास्वपा र राप्रपा मात्रै होइन संसद् अवरोधबाट पछि हटिसकेको नेकपा (एकीकृत समाजवादी)ले समेत आपत्ति जउँदै सभामुखको शैलीको आलोचना गरेको छ।
‘सभा कसरी चलाउने हो? अहिलेको यो तरिका भएन सभामुख महोदय। यो स्थगित गरेर, सहमति गरेर एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्,’ घिमिरेको ध्यानकर्षण गराउँदै एकीकृत समाजवादीको संसदीय दलका उप नेता राजेन्द्र पाण्डेले आइतबार भने।
स्वतन्त्र सांसद अमरेश कुमार सिंह र प्रभु साहले पनि सभामुखले सत्तारुढ दलको आग्रहमा रास्वपा र राप्रपाको आवाज नसुनेको आरोप लगाउँदै बैठकमै आलोचना गरेका छन्। सिंहले आफ्नो पालोमा बोल्नै अस्वीकार गरेका थिए। साहले रोस्टममबाटै घिमिरेसँग सवाल जवाफ गरे। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिपक्षी दलहरुको अवरोधकाबीच बैठक चलाउनु सभामुखको ‘दादागिरी’ भन्दै असन्तुष्टि पोखे।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमति गरेर संसद अवरोध नहटाउन्जेले घिमिरेले बैठक चलाएका थिएनन्। तर, माओवादी केन्द्र माओवादी केन्द्र विरोधबाट हटेपछि शुक्रबार र आइतबार घिमिरेले संसद् बैठक चलाए। आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल नै सुरु गरिएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) र अर्को प्रतिपक्षी दल एकीकृत समाजवादी सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेर अवरोधबाट पछि हटिसकेका छन्। तर सहमतिप्रति नै आपत्ति जनाएर राप्रपा र रास्वपाले विरोध कायमै राखेका हुन्।
आइतबारको बैठकअघि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालसँग छलफल गरेका थिए। दुबै दलले आफ्नो बिरोध जारी रहने बताएका थिए। सभामुखले रास्वपा र राप्रपाका सांसदलाई विरोध गर्ने भए बोल्ने समय नदिने बताएका थिए भने बजेटमाथिको छलफल प्रभावित भएको बाध्यता सुनाएका थिए।
‘सभामुखले बोलेर अवरोध गर्नुहुन्न भने समय दिन्न भन्नुभएको थियो। त्यहि भएर दिनु भएन। कांग्रेसलाई भन्दा पहिला रास्वपालाई बोल्न दिनुभएको भए हुन्थ्यो,’ घिमिरेका सचिवालयका एक सदस्यले भने।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि रास्वपा झनै आक्रामक भएको थियो भने त्यतिनैबेलादेखि वेलमा आएको थियो। यसरी विपक्षीको विरोधका बीच संसद बैठक चलाउनेमा घिमिरे मात्रै एक्ला पात्र भने होइनन्।
एमाले प्रतिपक्षमा भएका बेला उसको नौ महिनाको अवधिभर माओवादी केन्द्रका तर्फबाट सभामुख रहेका अग्निप्रसाद सापकोटाले पनि बैठक चलाएका थिए।
आइतबार रास्वपाका सांसदले बैठक अवधि (सवा तीन घण्टासम्म) विरोध गरे। सुरुमा वेलमा उभिएर नाराबाजी गरेका रास्वपाका सांसदले थकाइ लागेपछि भने त्यहि बसेर नाराबाजी गरे। राप्रपाले भने बैठक बहिष्कार गर्यो।
आज पनि रास्वपाको विरोध जारी रहने देखिन्छ भने सभामुख घिमिरे बैठक संचालन गर्नेमा दृढ छन्।