काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बैंक तथा वित्तीय संस्थाले साना किसानलाई सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताएका छन्।
उनले आइतबार राष्ट्रवादी गणतान्त्रिक मोर्चाको ज्ञापनपत्र बुझ्दै बैंक तथा वित्तीय संस्थाले किसानलाई गरिबीबाट माथि उठाउन सहजरुपमा ऋण प्रवाह गर्नुपर्ने बताए। उनले यस विषयमा मन्त्रालयले नेपाल राष्ट्र बैकसँग छलफल गर्ने तयारी गरेको बताए।
‘अहिले बैंकहरुले ५० लाखभन्दा कम रकमको कृषि कर्जा प्रवाह नगरेको सुनिएको छ। यस्तो हो भने यो गलत छ। ससाना किसानहरुले पनि कृषि कर्जा पाउनुपर्छ,’ मन्त्री अधिकारीले भने।
उनले देशभित्र उत्पादन नभएसम्म रासायनिक मल अभावको समस्या समाधान नहुने बताए। ‘हाल देखिएको रासायनिक मलको अभाव विगतदेखिकै समस्या हो। जबसम्म नेपालमै उत्पादन हुँदैन तबसम्म मलको अभाव कायम रहिरहन्छ।’