BIZMANDU
www.bizmandu.com

पोखराका दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा, पालिकाभर २०० रोपनीमा खेती

२०८२ जेठ ३१

पोखराका दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा, पालिकाभर २०० रोपनीमा खेती
तस्बिर : रासस।

पोखरा। पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाख रूपैयाँभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्।

Tata
GBIME

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेका छन्। जसबाट ३० हजार किलोग्राम तरबुजा बिक्री भएको छ।

प्रतिकूल मौसमका कारण ५ लाख रूपैयाँ बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन्।

स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको ७ किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो। उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरूलाई ५ हजार रूपैयाँ नगदसहित पुरस्कृत गरेको थियो।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष २ सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ।

महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नम्बर १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यसवर्ष पोखरामा करिब ४ सय टन (२ करोड रूपैयाँ बराबरको) तरबुजा उत्पादन भएको छ।

महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए। रासस