BIZMANDU
www.bizmandu.com

ग्वार्को ओभरपासको मुख्य संरचना तयार, डिभाइडर राख्ने लगायतका काम सकिएपछि खुला गरिने

२०८२ जेठ ३१

ग्वार्को ओभरपासको मुख्य संरचना तयार, डिभाइडर राख्ने लगायतका काम सकिएपछि खुला गरिने
ग्वार्को ओभरपासको मुख्य संरचना तयार, डिभाइडर राख्ने लगायतका काम सकिएपछि खुला गरिने

काठमाडौं। ललितपुरको ग्वार्कोस्थित ओभरपासको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। ओभरपासको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले स्थलगत निरीक्षण गरेको छ।

Tata
GBIME

निरीक्षणका क्रममा मन्त्री दाहालले सो ओभरपास निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए। यसैगरी अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिनभित्रै सार्वजनिक यातायात संचालन गरिने बताए।

यस्तै, सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब ओभरपासको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी जानकारी दिए। २/३ दिनभित्रै बाँकी कामहरू पूरा भएपछि यातायात संचालनका लागि खुला गरिने उनले बताए।

पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक-पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिएका थिए। सो ओभरपास संचालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।