BIZMANDU
www.bizmandu.com

नाडा अटो शो नाइमाको मोबिलिटी एक्स्पोभन्दा फरक हुने, मेड इन नेपाल ब्रान्डलाई साथ

२०८२ जेठ ३१

नाडा अटो शो नाइमाको मोबिलिटी एक्स्पोभन्दा फरक हुने, मेड इन नेपाल ब्रान्डलाई साथ
नाडा अटो शो नाइमाको मोबिलिटी एक्स्पोभन्दा फरक हुने, मेड इन नेपाल ब्रान्डलाई साथ

काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पोभन्दा नाडा अटो शो फरक हुने भएको छ। नाडाले समग्र अटो व्यवसाय झल्किने गरी अटो शो गर्ने तयारी गरेको छ।

Tata
GBIME

यसअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमार्फत काम गर्दै आएका अटो व्यवसायीले यसपालि नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याचर्स (नाइमा) खडा गरेर नेपाल मोबिलिटी एक्स्पो गर्दैछन्। काठमाडौंमा पहिलोपटक एकै वर्ष दुई वटा अटो शो गर्न लागिएको हो।

नाइमाले नेपाल मोबिलिटी एक्स्पोमा सहभागी हुने ५० वटा ब्रान्डका लागि स्टल बाँडफाड गरेको छ। जसअनुसार मोबिलिटी एक्स्पोमा केही एसेम्बल सवारीसाधन मात्रै देख्न पाइने छ भने नेपालमा उत्पादन हुने ब्रान्ड देख्न पाइने छैन।

नाडाले भने अहिलेसम्म अटो शोमा सहभागी हुनेहरूको सूची सार्वजनिक गरिसकेको छैन। यद्यपि, समग्र अटो क्षेत्रलाई समेटेर अटो शो गर्ने तयारी रहेको नाडाका पदाधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार नाडाले नेपाली ब्रान्डलाई पनि साथ दिन लागेको छ।

नाडाका अध्यक्ष करण चौधरी आफूहरूको अटो शोमा स्पेयर पार्ट्सहरूका प्रायः सबै कम्पनीले भाग लिने बताउँछन्।

‘हाम्रोमा नेपाली ब्रान्डसहितका सबै स्पेयर पार्ट्स कम्पनी सहभागी हुन्छन्। गाडीको ब्रान्ड बाँडिन्छ। बाइकका पनि केही ब्रान्ड बाँडिने भएको छ,’ उनले भने, ‘नाडा अटो शोले समग्र अटो क्षेत्रलाई समेट्नेछ। हामीले यो पटक केही नयाँ गर्न खोजिरहेका छौं। त्यो भिजिटरहरूका लागि सरप्राइज हुनेछ।’

नाडामा मुख्यरुपमा ४ वटा घराना एमएडब्लू, चौधरी ग्रुप, सिप्रदी ट्रेडिङ र बीवाइडीले सहभागिता जनाउँदै छन्। सिप्रदी ट्रेडिङले टाटा ब्रान्डको गाडी राख्नेछ। यस्तै, स्पेयर पार्ट्स पनि राख्ने योजना कम्पनीले बनाएको छ। नाडामा नेपालमा पहिलो पटक उत्पादन भएको दुई पाङ्ग्रे कम्पनी यात्री पनि सहभागी हुँदैछ।

सिजी होल्डिङ्सको सुजुकी र अन्य लुब्रिकेन्ट्स कम्पनी पनि नाडामा सहभागी हुँदैछन्। सीजी ग्रुप अन्तर्गत रिडारा, अवतार, आयोन, स्मार्ट, हिरो तथा लाइट कमर्सियलमा किङलङ र केवाइसी छन्। यी नाडा अटो शोमा राखिनेछन्।

यसैगरी, एमएडब्लू ग्रुपले डिपल, नामी र सेरेस गाडी तथा लाइट कमर्सियलमा फोटोन र सोकोनलाई नाडा अटो शोमा राख्ने योजना अनुसार आवेदन दिएको छ। यामाहाका मोटरसाइकल पनि नाडा अटो शोमा देखिनेछन्।

बीवाइडीले पनि नाडा अटो शोमा भाग लिने निश्चित भइसकेको छ। कम्पनीले नाइमा र नाडा दुवैमा भाग लिन लागेको हो। कम्पनीले लगभग ३ देखि ४ वटा नयाँ मोडलका गाडीहरू नाडामा राख्ने योजना बनाइरहेको छ।

सिएट टायर लगायत धेरै टायर कम्पनी, लुब्रिकेन्ट्स कम्पनी र हेलमेट्स ब्रान्ड पनि नाडामा सहभागी हुँदैछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले अघिल्ला वर्षजस्तै नाडा अटो शोमा स्टल राख्ने तय भएको छ।

नेपाली ब्रान्डलाई साथ

नाडाले नेपालमा उत्पादन हुने ब्रान्डलाई साथ दिने भएको छ। नेपालमा बनेको दुई पाङ्ग्रे स्कुटर पहिलो पटक नाडा अटो शोमा देखिने भएको छ।

सिप्रदी र यात्रीले निर्माण गरिरहेको यात्री स्कुटरको प्रोटोटाइप नाडा अटो शोमा देख्न पाइनेछ। यात्री स्कुटरलाई अटो शोमा राख्न प्रक्रिया अगाडि बढाइएको छ।

यात्री नेपाली ब्रान्डको बाइक तथा स्कुटर बनाइरहेको कम्पनी हो। मास मार्केटमा जान नाडा अटो शोदेखि स्कुटर ल्याउने योजना कम्पनीको छ।

यस्तै, यती र कोहिनुर प्लास्टिक इन्डस्ट्री (केपीआई) हेल्मेट कम्पनीले पनि आफ्नो अटो शोमा भाग लिने नाडाले जनाएको छ। यी दुवै नेपाली कम्पनी हुन्। कच्चा पदार्थ आयात गरेर हेल्मेट उत्पादन गर्दै आएका यी दुई कम्पनीले अहिले १८ देखि २० प्रतिशत बजार लिएका छन्।

नेपाली ब्रान्डका धेरै लुब्रिकेन्ट कम्पनीलाई पनि नाडाले अटो शोमा सहभागी गराउन लागेको छ। नेपाल ल्युब आयलको गल्फ लुब्रिकेन्ट, पूर्वाञ्‍चल ल्युब आयलको पीएलओ ब्रान्ड नाडा अटो शोमा सहभागी हुँदैछन्।

पूर्वाञ्‍चल आयलले पीएलओ, मेघा र स्टार लुब्रिकेन्ट उत्पादन गर्छ। वार्षिक १२ अर्बको लुब्रिकेन्टको नेपाली बजारमा स्वदेशी उत्पादनको हिस्सा ४० प्रतिशत छ।