BIZMANDU
www.bizmandu.com

विराटनगर पुगेका प्रचण्डले भने ‘जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति’

२०८२ जेठ ३१

विराटनगर पुगेका प्रचण्डले भने ‘जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति’
अध्यक्ष ‘प्रचण्ड’ – सञ्चारकर्मीसँग मोरङ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार विराटनगर आउँदा विमानस्थलमा सञ्चारकर्मीसँग मुलुकका समसामयिक कुराकानी गर्नुहुँदै । तस्बिरः मनोज दाहाल÷रासस

मोरङ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे।

Tata
GBIME

विपक्षी दलहरूले संयुक्त रूपमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन समितिको माग गरेर जेठ १३ देखि प्रतिनिधि सभामा अवरोध गरेका थिए। तर, शुक्रबार सत्तारुढ दल एमाले र कांग्रेससँग प्रतिपक्षी दल माओवादी केन्द्रको दुई बुँदे सहमति भएको थियो। सहमतिसँगै अवरोध गर्नबाट पछि हट्दा सदनको कारवाही अघि बढेको थियो।

यद्यपि रास्वपा र राप्रपाले अडान छाडेका छैनन्। उनीहरुले शुक्रबार गृहमन्त्री लेखकले बोलिरहँदा रोस्ट्रम घेराउ गरेका थिए।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गरिएको बताए। अर्को प्रसंगमा उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औंल्याए। रासस