काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार अपरेटर एनसेलले आफूसँगै सरकारी स्वामित्वको नेपाल टेलिकम पनि डुब्ने बाटोमा उन्मुख भएको डरलाग्दो तस्वीर बाहिर ल्याएको छ।
आम्दानी ८ वर्षदेखि निरन्तर ओरालो लागिरहेका कारण सरकारले कर छुटमा ढिलाइ गरे एउटै डुंगामा सवार दुवै कम्पनी डुब्ने जोखिम एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले देखाएका छन्।
टेलिकम अपरेटरको ओरालो व्यवसाय र फाइभीबारे जानकारी गराउन कायुमोभले बिहीबार काठमाडौंमा पत्रकारहरुलाई निम्ता गरेका थिए। उनको हाउभाउ भने त्यति उत्साहजनक थिएन।
तैपनि उनले निरन्तर घट्दै गएको व्यापारसँगै सरकारी निकायबाट पाइरहेका हण्डरलाई कायुमोभले मनको एउटा कुना लुकाएर राखे। र, नेपालमा कसरी फाइभजी रोलआउट गर्न सकिन्छ भनेर ‘द इकोनोमिक्स अफ फाइभजी’ केलाए।
टेलिकम आफैंमा ठूलो मात्रामा पैसा सोसिरहने उद्योग भएकाले अनेक उपाय लगाउँदा पनि लगातार ७ वर्षदेखि देशमा सञ्चालित दुवै अपरेटर नेपाल टेलिकम र एनसेलको व्यापार बढ्न सकेको छैन।
जसका कारण दुवै अपरेटरहरु नयाँ प्रविधि र गुणस्तर सुधारमा पर्याप्त लगानी गर्न डराइरहेका छन्। लगानी गरौं एकदमै ठूलो छाती चाहिन्छ, नगरौं प्रविधिमा पछि परिन्छ।
फर्मल अटायरमा सजिएका कायुमोभले एनसेलले भोगिरहेका सबै बाधालाई बिर्सिएर नेपालमा फाइभजी रोलआउटको सम्भावित ‘ब्लूप्रिन्ट’ प्रस्ट देखाइदिए। चौतर्फी अन्योल भइरहेका बेला उनले नेपाल फाइभजीका लागि तयार भइसकेको तथ्यांक प्रस्तुत गरे।
‘अबको ३-४ वर्षपछि म एनसेलसँगै नेपालमा रहौंला नरहौंला, तर नेपाल फाइभजीमा पछि पर्नु हुँदैन। किनभने थ्रीजीलाई व्यावसायिक सुरुवात गर्ने मामिलामा नेपालले दक्षिण एसियामै छिटो सुरु गरेको थियो। त्यसपछि फोरजीमा पछि पर्यौं। अब अहिले फाइभजीमा निकै पछि परिसकेका छौं। यो त लज्जाको विषय हो,’ कायुमोभले भने।
विश्वभर १२६ देशका ३४३ टेलिकम अपरेटरहरुले फाइभजी सेवा व्यावसायिकरुपमा रोलआउट गरिसकेका छन्।
कायुमोभले फाइभजीका लागि नेपाल तयार भए पनि यथार्थमा अपरेटरहरु भने वित्तीय हिसाबमा असफलताको बाटोतर्फ अघि बढिरहेको गम्भीर तथ्य बताए। निरन्तर घट्दै गएको कारोबारलाई न्यूनीकरण गर्न राज्यले काउन्टर-उपाय नलगाउने हो भने नेपालको दूरसञ्चार उद्योग नै धरासायी बन्ने उनको चेतावनी छ।
‘फाइभजी आए पनि नआए पनि अहिलेको अवस्था सुध्रिएन भने नेपालको टेलिकम सेक्टर फेल हुन्छ,’ कायुमोभले भने।
आठ वर्षअघि नेपाल टेलिकम र एनसेलले ९७ अर्ब रुपैयाँको कारोबार गरेका थिए। गत वर्ष ७३ अर्बमा झर्यो। उही गतिमा व्यापार घट्दै जाने हो भने कुल कारोबार अब ५६ अर्बमा खुम्चिने अवस्था छ।
अबको तीन वर्षपछि दुवै अपरेटर टेलिकम र एनसेलको खुद मुनाफा नेगेटिभ हुने जोखिम बढ्दै गएको छ। कायुमोभले एनसेलको मात्रै होइन, प्रतिस्पर्धी नेपाल टेलिकमको पनि वित्तीय रिपोर्ट हेरिरहेका छन्। उनले टेलिकमको नाफा देखाउँदा दुवै कम्पनी एउटै डुंगामा सवार रहेको स्पस्टरुपमा चित्रित पनि गरे।
एकातिर निरन्तर आम्दानी घट्दै गएको स्थिति छ भने अर्कातिर फाइभजी रोलआउट गर्न एउटै अपरेटरलाई झण्डै ४६ अर्ब रुपैयाँ लगानी चाहिन्छ। नगद प्रवाह मात्रै ६४ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने कायुमोभको भनाइ छ।
उनका अनुसार काठमाडौं र ललितपुर महानगर क्षेत्रमा फाइभजी रोलआउट गर्न साढे १५ अर्ब रुपैयाँ चाहिने देखिन्छ। उपकरण तथा पूर्वाधारमा प्रति अपरेटर ८ अर्ब खर्चिनुपर्छ। पाँच वर्षको स्पेक्ट्रम तथा मर्मत खर्च साढे ७ अर्ब छुने विश्लेषण छ।
पाँच वर्षमा स्पेक्ट्रम तथा मर्मत खर्च साढे १८ अर्ब लाग्ने अनुमान गरिएको छ। अहिलेको अवस्थामा एनसेल वा नेपाल टेलिकम दुवैले फाइभजीमा यति ठूलो लगानी गर्न सक्ने सम्भावना कायुमोभले देखेका छैनन्।
‘अहिलेको व्यापारको अवस्थाले कुनै पनि अपरेटरले फाइभजीबाट अपेक्षाकृत क्यास फ्लो सृजना गर्न सक्दैन। सब्स्क्रिप्सन मोडल अपनायौं भने पनि अपेक्षित नगद प्रवाह सृजना गर्न ७ देखि ८ वर्ष लाग्छ। प्रतिफलका हिसाबले यो लगानीमैत्री तथा ढुक्क भइहाल्ने अवस्था होइन। फाइभजी रोलआउटलाई गति दिने हो भने सरकारले नि:शुल्क स्पेक्ट्रम, भन्सार महसुलमा छुटदेखि दूरसञ्चार क्षेत्रमा थोपरिएको कर घटाउनुपर्छ। नेपालमा दूरसञ्चारलाई लक्जरी आइटम जसरी कर लगाइएको छ न कि लाइफलाइन सम्झिएर,’ कायुमोभले भने।
फाइभजी इनेबल्ड स्मार्टफोनको आयात उल्लेख्य बढ्दै गएकाले बजार तयार हुँदै गएको उनको तर्क छ। सन् २०२४ मा नेपालमा फाइभजी ह्यान्डसेट बेस १६ प्रतिशत जनसंख्यासँग रहेकामा सन् २०३० सम्म ५९ प्रतिशतसम्म पुग्ने अनुमान छ। साथै सन् २०२४ मा नेपालको औसत डेटा खपत मासिक ६ जीबी रहेकामा सन् २०३० सम्म २१ जीबी पुग्ने प्रक्षेपण छ।
फाइभजीकै लागि भनेर एनसेलले यो वर्षबाटै थ्रीजी सेवा र आगामी दुई वर्षमा टुजी सेवा बन्द गर्ने तयारी गरिरहेको कायुमोभले जानकारी दिए।
टुजी, थ्रीजी र फोरजी अबको केही समयमै अव्यवहारिक हुने देखेर एनसेलले अब फाइभजीमै आफूलाई केन्द्रित गराउन खोजेको छ। एनसेलको नेटवर्कमा झण्डै १२ प्रतिशत साइट थ्रीजीको छ। फाइभजीको विस्तार फोरजीको भन्दा छिटो हुने कायुमोभको भनाइ छ।