काठमाडौं। दुई सातादेखि कायम सदनको अवरोध हटाउनका लागि सत्तारुढ र विपक्षी दलबीच दुई बुँदे सहमति भएको छ।
भिजिट भिसाका नाममा भएको अवैध असुलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सरकारले आवश्यक सहजीकरण गर्ने र अध्यागमनमा देखिएका समस्या समाधान गर्न आवश्यक अनुसन्धान गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नमा उपयुक्त व्यवस्थाका लागि ठोस पहल गर्ने सहमति भएको हो।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुई बुँदे सहमति भएको जानकारी दिएका छन्। तर, विपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने दुई बुँदे सहमतिमा असहमति जनाएको छ।
भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थलमा भएको अवैध असुली प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै माओवादी केन्द्र रास्वपा लगायत विपक्षी दलहरुले जेठ१३ देखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका थिए।
विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका थिए। उनीहरुले जेठ १५ गते बजेट ल्याउन दिएपनि त्यसपछि बैठक चल्न दिएका थिएनन्। माओवादी केन्द्रले कांग्रेससँगको सम्बन्ध बिग्रिने भन्दै गृहमन्त्रीको राजीनामाको माग एक साताअघि नै छोडेको थियो।