BIZMANDU
www.bizmandu.com

बुटवल आसपास १० महिनामा अवैध ३ करोड ४६ लाख बरामद, नेरुभारुसँगै डलर र दिराम

२०८२ जेठ २९

बुटवल आसपास १० महिनामा अवैध ३ करोड ४६ लाख बरामद, नेरुभारुसँगै डलर र दिराम
बुटवल आसपास १० महिनामा अवैध ३ करोड ४६ लाख बरामद, नेरुभारुसँगै डलर र दिराम

लुम्बिनी। राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका ३ करोड ४६ लाख ५५ हजार ८८० रुपैयाँ बरामद गरेको छ। बरामद मुद्रामध्ये नेपाली १ करोड ९१ लाख र भारु १ करोड ५५ लाख रहेको कार्यालयले जनाएको छ।

Tata
GBIME

नेपाल-भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए। रकमसँगै पक्राउ परेकाहरू भरियाका रूपमा रहेको खुल्छ, गिरोहको जरासम्म पुग्न भने प्रहरी तथा अनुसन्धान अधिकारीहरू पुगेका छैनन्।

अनुसन्धान अधिकृत घिमिरेका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, यूएई दिराम तथा नेपाली रुपैयाँ छन्। त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको उनले बताए।

राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट रकम बरामद भएका छन्। रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गरे।

तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेको शंका छ। ‘सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन,’ उनले भने। रासस