काठमाडौं। उपत्यकाको बजारमा गोलभेंडा क्रमिक महँगिएको छ। स्वदेशी उत्पादन घटेसँगै बजारको मागका अनुपातमा कम आपूर्ति हुन थाल्दा मूल्य बढ्न थालेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ४ दिनको अन्तरालमा गोलभेंडाको भाउ ७२ प्रतिशतसम्म बढेको छ। थोकमा गत शनिबार प्रति किलो ७५ रुपैयाँले किनबेच भएको ठूलो नेपाली गोलभेंडाको कारोबार मूल्य बुधबार प्रति केजी १०६ रुपैयाँ पुगेको छ।
सानो गोलभेंडा लोकलको भाउ पनि चार दिनमा ३२ रुपैयाँ बढेर किलोको ७५ रुपैयाँ पुगेको छ। त्यस्तै टनेल गोलभेंडा प्रति केजी ५६ रुपैयाँबाट ८६ रुपैयाँ भएको छ।
माग अनुसारको परिमाणमा गोलभेंडाको आपूर्ति नभएपछि भाउ बढेको बजार विकास समितिले जनाएको छ। व्यवसायीका अनुसार वर्षाका कारण गोलभेंडाको उत्पादन क्रमिक घट्नुका साथै कुहिने समस्याका कारण किसानले मागअनुसारको परिमाणमा बजारमा पठाउन कम भएको छ। त्यसैले मूल्यमा चाप परेको उनीहरुको भनाइ छ।
तरकारी फलफूल महासंघका पूर्वअध्यक्ष खेमप्रसाद अधिकारी भन्छन् ‘टनेलभन्दा बाहिरको गोलभेंडाको सिजन सकिँदै गयो, त्यसैले भाउ बढेर आएको छ।’ उपत्यकामा उत्पादित गोलभेंडा बाहिरका जिल्लामा गएपछि पनि महँगिएको उनी बताउँछन्।
‘अब बजारमा आउने भनेको टनेलको गोलभेंडा नै हो। त्यसको सिजन अब सुरु भयो,’ उनले भने, ‘अब बजारमा आउने गोलभेंडा ७० प्रतिशत टनेलकै हुन्छ।’ किसानले खेतबारीमा लगाएका गोलभेंडा वर्षासँगै बोट मर्ने र कुहिने हुँदा जोगाएर बजार पठाउने परिमाण नबढ्ने उनले बताए।
उनका अनुसार केही सातायता भारतबाट समेत ठूलो गोलभेंडा आयात भइरहेको छ। बजारको माग अनुसार पर्याप्त उत्पादन नहुँदा केही समय महँगो हुने महासंघले जनाएको छ।