काठमाडौं । काठमाडौं जिल्ला अदालतले बिजमाण्डूमा प्रकाशित समाचार हटाउन आदेश दिएकोमा अनलाइन पत्रकार संघले अदालतले एकतर्फी बहस सुनेर आदेश दिएको भन्दै समाचार प्रकाशित गर्ने मिडियालाई प्रमाण देखाउने अवसार दिनुपर्ने जनाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले हालेको मुद्दामा अदालतले बिजमाण्डूमा प्रकाशित भएका समाचारहरु तुरुन्त हटाउनु, हटाउन लगाउनु भनि आदेश जारी गरेको हो। बिजमाण्डूले सेबोनमा भएको अनियमितताबारे लगातार समाचार प्रकाशन गरिरहेको छ।
संघले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको उल्लेख गर्दै अदालतले निवेदकको मात्रै बहस सुनेर फैसला गरेको जनाएको छ। अदालतले विपक्षीको तर्क र प्रमाण नै नहेरी र नबुझी प्रकाशित समाचार हटाउन आदेश दिएको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक निकायको प्रमुख वा पदाधिकारीको गतिविधि सार्वजनिक चासोको विषय र समाचारको विषय भएको भन्दै यो नागरिकले थाहा पाउनुपर्ने विषय भएको संघको भनाइ छ।
‘सञ्चार माध्यममा प्रकाशित समाचार र समाचारमुलक सामग्रीको सन्दर्भमा आदेश वा फैसला गर्दा सम्मानित अदालतले संविधान, प्रचलित कानुन, पत्रकार आचारसंहिता लगायतका प्रावधानको पूर्णतः ख्याल राख्छ भन्ने विश्वास अनलाइन पत्रकार संघको छ,’ विज्ञप्तिमा उल्लेख छ।