BIZMANDU
www.bizmandu.com

कांग्रेस सुन आयातमा कोटा खारेजीको पक्षमा, देउवाले भने- म त भन्छु पूरै खोल्दिनुपर्छ

२०८२ जेठ २७

कांग्रेस सुन आयातमा कोटा खारेजीको पक्षमा, देउवाले भने-  म त भन्छु पूरै खोल्दिनुपर्छ
कांग्रेस सुन आयातमा कोटा खारेजीको पक्षमा, देउवाले भने- म त भन्छु पूरै खोल्दिनुपर्छ

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस सुन आयातमा २० किलोको कोटा खारेज गर्नुपर्ने पक्षमा उभिएको छ।

Tata
GBIME

पार्टीको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले कोटाको विरोध गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू खारेज गर्नुपर्ने पक्षमा रहेको बताए।

बजेटले आपूर्ति श्रृंखलामा पार्ने प्रभावबारे गरिएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले सुनमा विलासिता लगाइएकामा विरोध गरे। ‘सुनमा कोटा लगाइएको छ। अहिले त तहतहमा कर पनि लागेको छ। यसमा हाम्रो विरोध छ। महराजादेखि गिटी कुट्नेसम्मले प्रयोग गर्छन् सुन,’ शाक्यले भने।

दैनिक २० किलोको कोटाले बजारको माग नधान्ने शाक्यले बताए। ‘हामीसँग यति सुन छ भन्ने घोषणा गर्न सक्ने वातावरण होस्। ८ हजारमा किनेको सुन अहिले बजारमा आइरहेको छ। सुनमा लाभकर लगाइयोस्। यसले सरकारलाई मनग्गे फाइदा नै हुन्छ। तर, विलासिता करको घोर विरोध गर्छौं,’ उनले भने।

नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ व्यवसायी संघका अध्यक्ष अर्जुन विश्वकर्माले भन्सार दर महँगो हुँदा भारतबाट गहना भित्र्याउने गरेकोतर्फ ध्यान दिन आग्रह गरे।

‘भन्सार दर भारतमा ६ प्रतिशत छ। नेपालमा १० प्रतिशत छ। नेपालमा विलासिता कर थपिएको छ। भ्याटसहित जोड्दा भारतमा भन्दा नेपालमा मूल्य २२ प्रतिशत बढी। यसले तोलामा ४५ हजार खर्च फरक आउँछ,’ उनले भने।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सुनमा कोटा तोक्दा अवैधानिक बाटोबाट आउने क्रम बढेकोले हटाइनुपर्ने सुझाव दिए।

‘सुनमा पनि कोटा तोक्ने हो र? दालको कोटा तोक्नुस्। दालको मूल्य बढ्छ। चामलको कोटा तोक्नुस्। चामलको मूल्य बढ्छ। नुनको कोटा तोक्दा नुनको बढ्छ। वैधानिक बाटोबाट आउने सुनको कोटा तोकेर अवैधानिक बाटोबाट सुन ल्याउने जुन च्यानल छ। वैधानिक बाटो खोलिदिनुस्,’ विश्वकर्माले भने।

उनले सुनमा विलासिता कर लगाइएकामा पनि विरोध गरे। ‘न्वारनदेखि घाटसम्म लानुपर्ने चिज पनि कहीं विलासिताको चिज हुन्छ र? यो नगद सरहको विषय हो,’ विश्वकर्माले भने। अहिले दैनिक २० किलोभन्दा बढी सुन आयात गर्न पाइँदैन।

कांग्रेस महामन्त्री गगन थापाले सुनकव कोटा र करको कुरामा विशेष ध्यान दिनुपर्ने बताए।

शेरबहादुर देउवा

कांग्रेस सभापति देउवाले आफू सुनमा कोटा खारेज गर्नुपर्ने पक्षमा रहेको बताए। ‘एक जना सुन व्यवसायीसँग कुरा गरेको सुन चाहिं चोरीको मात्र लगाउनुपर्छ भने। म त भन्छु सुन पूरै खोल्दिनुपर्छ,’ उनले भने, ‘सबैले लगाउँछन् सुन। गहना लगाउँछन्। नोटमा विश्वास गर्दैन बरु सुनमा विश्वास गर्छन्। के गर्ने अब? सुन पूरै खोल्नुपर्छ भन्ने मेरो धारणा हो।’