काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गरेको छ।
जुन ६-७ मा चीनको चोङछिङमा आयोजित सम्मेलनमा परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरिएको थियोे।
सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले चीन-आसियान सत्रमा प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए। त्यसक्रममा उनले नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए।
चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए। सो कार्यक्रममा चीन-आसियान ईभी सहयोग, दिगो यातायात र विद्युतीय सवारी प्रवर्धनबारे छलफल भएको थियो।
सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो। जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो।
उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्धन गर्ने स्टल समेत राखेको थियो। त्यहाँ नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो।
उक्त सम्मेलनमा नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती , केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्धय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको पनि सहभागिता रहेको थियो।