काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष १० महिनामा सेयर धितोमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।
बैंकहरुले यो वर्ष वैशाखसम्म सेयर धितो कर्जा ३९.०३ प्रतिशतले बढाएका हुन्। बैंकहरुको सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो।
ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरेका छन्। १ करोडमाथिको सेयर धितो कर्जा ५३.३ प्रतिशतले बढेको छ। १० महिनामा ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।
असार मसान्तसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको १ करोडमाथिको सेयर धितो कर्जा वैशाखसम्म आइपुग्दा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
यो वर्ष वैशाखसम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा २ अर्ब ६२ करोड रुपैयाँले बढेर १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
यो रकम गत असारको तुलनामा २१.१ प्रतिशत धेरै हो। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा गत असारसम्म १२ अर्ब ४२ करोड रुपैयाँ थियो।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १०.८ प्रतिशतले बढेको छ।