BIZMANDU
www.bizmandu.com

सेयरबाट मनग्य फाइदाको लोभमा भारतमा सामाजिक सञ्जालबाट ठगी, ९७ लाख रुपैयाँ गुम्यो

२०८२ जेठ २७

सेयरबाट मनग्य फाइदाको लोभमा भारतमा सामाजिक सञ्जालबाट ठगी, ९७ लाख रुपैयाँ गुम्यो
सेयरबाट मनग्य फाइदाको लोभमा भारतमा सामाजिक सञ्जालबाट ठगी, ९७ लाख रुपैयाँ गुम्यो

सामाजिक सञ्जालको समूहमा जोडिएर सेयर बजारमा लगानी गर्दा मनग्य फाइदा हुने लोभमा पर्दा भारतको नोयडामा भएको एउटा ठगीको घटनाले लगानीकर्ता सतर्क हुनुपर्ने संकेत गरेको छ।

Tata
GBIME

नोएडामा प्रहरीमा सेयर बजारमा लगानी गरी फाइदा दिने झुठो प्रलोभन दिइ एक कम्पनीका अर्थ विभागका कर्मचारीबाट ९७ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला र उनका साथीहरूविरुद्ध उजुरी परेको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ।

नोयडा प्रहरीको अपराध शाखाकी उपायुक्त प्रीति यादवका अनुसार नोएडाको सेक्टर-७७ स्थित प्रतीक विस्टेरिया सोसाइटीमा बसोबास गर्ने रामागुंडम फर्टिलाइजर्स कम्पनीको आर्थिक विभाग प्रमुख योगेश कुमार ठगीमा परेका हुन्।

उजुरीअनुसार सेयर बजारमा रुचि भएकाले उनी गत मार्च ७ मा व्हाट्सएपको एउटा लगानी समूहमा जोडिएका थिए, जहाँबाट उनको सम्पर्क ‘ग्रुप एडमिन’ प्रिया शर्मासँग भयो। प्रियाले फाइदा हुने आश्वासन दिएर कुमारलाई लगानी गर्न लगाइन।

लगानी गर्दा फाइदा हुने विश्वास दिलाएर एउटा एप्लिकेसन डाउनलोड गर्न लगाइयो, त्यसमा उनको युजर बन्यो। कुमारका अनुसार उनले सुरुमा थोरै रकम लगानी गरे र केही फाइदा पाए। यसपछि उनले १५ मार्चदेखि ३० मईसम्म ७४ लाख रुपैयाँ लगानी गरे।

एप्लिकेसनमा कुमारले एक करोडभन्दा बढी कमाएको देखाइयो। तर, जब उनले पैसा निकाल्न खोजे, तब करको नाममा उनलाई २२ लाख रुपैयाँ तिर्न लगाइयो। उनले २२ लाख रुपैयाँ तिरे, तैपनि आफ्नो पैसा निकाल्न पाएनन्। भुक्तानी पाउन नसकेपछि बल्ल उनले आफूलाई ठगिएको थाहा पाए।

उनलाई लगानी गर्न लगाउनेहरु सम्पर्कबाट हराए। उनलाई उक्त ‘व्हाट्सएप ग्रुप’बाट पनि निकालियो। यस सम्बन्धमा मुद्दा दर्ता गर्नुका साथै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।