BIZMANDU
www.bizmandu.com

एसिया कप छनोट : १५ स्थान तलको लाओससँग भिड्दै नेपाल, समूह ‘एफ’को समीकरण यस्तो

२०८२ जेठ २७

एसिया कप छनोट : १५ स्थान तलको लाओससँग भिड्दै नेपाल, समूह ‘एफ’को समीकरण यस्तो
एसिया कप छनोट : १५ स्थान तलको लाओससँग भिड्दै नेपाल, समूह ‘एफ’को समीकरण यस्तो


काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मंगलबार लाओससँग प्रतिस्पर्धा गर्दैछ। लाओसको राजधानी भियन्टियानस्थित न्यु लाओस नेसनल स्टेडियममा साँझ पौने ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

समूह ‘एफ’का दुबै टोली पहिलो जितको खोजीमा छन्। यसअघि दुबै टोलीले पहिलो खेलमा पराजय ब्यहोरेका थिए। नेपाल मलेसियासँग २-० र लाओस भियतनामसँग ५-० गोलले पराजित भएका थिए।

चार टोली सहभागी यो समूहमा समान ३ अंक बनाएका भियतनाम र मलेसिया शीर्ष दुईमा छन्। अंकविहीन नेपाल र लाओस क्रमश: तेस्रो र चौथो स्थानमा छन्। समूह चरणमा एकअर्काविरुद्ध होम एण्ड अवे फर्म्याटमा खेल्नुपर्नेछ। शीर्ष टोलीले एसिया कपमा स्थान बनाउने छन्।

मंगलबार नै मलेसिया र भियतनाम क्वालालम्पुरमा आमनेसामने हुनेछन्।

नेपाल फिफा वरीयतामा लाओस भन्दा माथि छ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १९०औं स्थानमा छन्।

हालसम्मको खेलको तथ्यांकले पनि नेपाललाई बलियो देखाउँछ। पछिल्ला ६ खेलमा नेपाललाई लाओसले हराउन सकेको छैन। नेपालले चार खेलमा जित निकालेको छ। दुई खेल बराबरीमा रोकिएका छन्।

लाओसविरुद्धको खेलको तयारीस्वरुप नेपालले हङकङविरुद्ध अभ्यास खेल खेलेको थियो। अभ्यास खेलमा नेपालले १५३औं स्थानको हङकङसँग गोलरहित बराबरी खेलेको थियो।

खेलअघि पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक म्याट रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले आफूहरु सचेत रहेको बताएका छन्।

‘लाओस पूर्णरुपमा संगठित टोली हो। अत्यन्त आक्रामक लाओसविरुद्ध केही कमजोरी गर्दा स्थिति डरलाग्दो बन्न सक्छ। त्यसैले हामीले खेललाई गम्भीरतापूर्वक लिएका छौँ,’ उनले भने।

हङकङविरुद्धको अभ्यास खेलमा घाइते भएका सनिश श्रेष्ठले खेल्ने नखेल्ने टुंगो छैन। पत्रकार सम्मेलनका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न तयार रहेको बताए।

‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार छौं। पछिल्ला चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु। त्यसैले पनि खेलका लागि हामी शारीरिक र मानसिकरुपमा तयार छौं,’ चेम्जोङले भने।