काठमाडौं। गत वर्षको बाढीले भत्काएको बिपी राजमार्ग पुनर्निर्माणका लागि सिन्धुलीतर्फको सडक खण्डको ठेक्का लागेको छ। सडक डिभिजन सिन्धुलीका अनुसार सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण गर्न खरिढुंगा/घिसिङ/ क्षितिज जेभीले सबैभन्दा कम कबोल गरेर ठेक्का पाएको हो।
कम्पनीले यो खण्ड निर्माण गर्न लगभग २५ प्रतिशत कम कबोल गरेर ६१ करोड १४ लाख रुपैयाँमा निर्माण गर्ने गरि आर्थिक प्रस्ताव पेस गरेको छ।
अन्य कम्पनीले भन्दा कम रकममा काम गर्न प्रस्ताव गरेकाले खरिढुंगा/घिसिङ/क्षितिज जेभीले ठेक्का पाएको हो। डिभिजन कार्यालयले यो खण्ड पुनर्निर्माण गर्न १ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। यो खण्ड पुनर्निर्माणका लागि आह्वान गरिएको ठेक्कामा ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।
बिपी राजमार्गअन्तर्गत हालसम्म दुई वटा खण्डको ठेक्का लागेको छ। यसअछि चारसयबेंसीदेखि डालाबेंसीसम्म ८.५ किलोमिटर खण्ड सडक पुनर्निर्माणका लागि थानी/एवान/कमलजित जेभीले ठेक्का पाइसकेको छ।
कार्यालयले गत चैतमा टेण्डर आह्वान गरेकामा थानी/एवान/कमलजित जेभीले सबैभन्दा कम अर्थात १ अर्ब ४२ करोड रुपैयाँमा काम गर्न कबोल गरेको थियो। कार्यालयले यो खण्ड पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँको लागत अनुमान गरेकामा थानी/एवान/कमलजित जेभीले २९ प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो। यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।
अब एउटा खण्डको ठेक्का लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ।
यस्तै, काभ्रेको अन्तिम खण्डमा भने अप्ठेरो रहेकाले डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहयोग गर्ने भएको छ।
गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको भकुण्डेबेंसी-नेपालथोक खण्ड क्षतिग्रस्त पारेको थियो। पुनर्निर्माणका लागि ३ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो।
काभ्रेतर्फ भकुण्डेबेंसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण गर्न लागिएको छ।