काठमाडौं। वित्तीय क्षेत्रमा ‘प्रोफेसनल’ संस्थाको छवि बनाएको सानिमा बैंकको स्वामित्वमा रहेको सानिमा क्यापिटल एउटा अपारदर्शी संस्थाका प्रमोटरहरूको फन्दामा पर्दा विवादित भएको छ।
सानिमा क्यापिटलले दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको केही सेयर लिलाम बिक्री गर्ने जिम्मा पाएको थियो। उसले गत शुक्रबारसम्म परेका आवेदनहरूको बोलकबोल खोलिने सार्वजनिक सूचना नै जारी गरेको थियो।
तर, दोर्दीका केही संस्थापकहरूको ‘फन्दा’मा परेर उसले सिलबन्दी गोप्य राखेको छ। दोर्दीको कुल १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा राखिएको थियो।
सानिमा क्यापिटलले शुक्रबार नै सेयरको ‘कट अफ प्राइस’ निकाल्नु पर्नेमा अहिलेसम्म निकालेको छैन।
‘अहिलेसम्म कुनै पनि क्यापिटलले आवेदन खोलेपछि कट अफ प्राइस सार्वजनिक नगरेको मलाई जानकारी छैन,’ दोर्दीको लिलामीमा भाग लिएका एक लगानीकर्ताले भने, ‘तर सानिमाजस्तो प्रोफेसनल मानिएको संस्थाले भने अहिलेसम्म फोन गरेर माग्दासमेत प्राइस दिएन।’
स्रोतहरूका अनुसार आफ्ना केही मान्छेलाई सस्तोमा सेयर दिलाउन अपारदर्शी काम भएको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ तोकेको थियो। त्यसमाथि जति पनि बोलकबोल गर्न पाइन्छ।
यसअघि पनि सेयर लिलामीमा राखिएको थियो। त्यसबेला आवेदन परेन भनेर प्रक्रिया खारेज गरियो। त्यसपछि पुन: प्रक्रिया अगाडि बढाइएको थियो। तर, त्यसको कट अफ मूल्य भने सार्वजनिक गरिएको छैन।
दोर्दीमा सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका प्रवर्धकहरू छन्। यो कम्पनी अपारदर्शी ढंगले चलिरहेको छ।