काठमाडौं। केही वर्षयता विद्युतीय (इन्डक्सन) चुल्होको बिक्री निरन्तर बढिरहेको छ। सरकारले एलपी ग्यासको खपत घटाउन उपभोक्तालाई इन्डक्सन चुल्होको प्रयोग बढाउन प्रोत्साहन गर्ने नीति लिएकाले पनि बिक्री बढिरहेको हो।
इन्डक्सनको बिक्री बढ्दा पनि ग्यासको खपतमा भने कमी आएको छैन। ग्यासको आयात पनि बढेको सरकारी तथ्यांक छ।
पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा इन्डक्सन चुल्हो र ग्यास दुवैको आयात बढेको देखिन्छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ५१ अर्ब ८१ करोड रुपैयाँको ४५ करोड ६८ लाख ८० हजार केजी ग्यास आयात भएको छ। यो अवधिमा ३१ करोड २४ लाख रुपैयाँको १ लाख ५४ हजार ४६१ थान इन्डक्सन भित्रिएको छ। यस्तै ९ करोड ३४ लाख रुपैयाँको ४९ हजार ८७३ थान इन्फ्रारेड आयात भएको तथ्यांक छ।
गत आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा ४६ अर्ब ९८ लाख रुपैयाँको ४३ करोड ५९ लाख ६३ हजार ९२ केजी ग्यास, १६ करोड २९ लाख २० हजार रुपैयाँको ७४ हजार २५२ वटा इन्डक्सन र ९ करोडको ४३ हजार १३४ वटा इन्फ्रारेड आयात भएको थियो।
२०७९/०८० को पहिलो १० महिनामा ४९ अर्ब ७२ करोड ८४ लाख रुपैयाँको ४२ करोड ४६ लाख ८२ हजार केजी ग्यास, २२ करोड ६१ लाख ५२ हजार रुपैयाँको १ लाख ६ हजार ९०० वटा इन्डक्सन र १३ करोड ३३ लाख ७० हजार रुपैयाँको ६९ हजार १६१ वटा इन्फ्रारेड आयात भएको भन्सार विभागको तथ्यांक छ।
आर्थिक वर्ष २०७८/०७९ मा ५२ अर्बको ५९ लाख रुपैयाँको ४४ करोड १३ लाख ६३ हजार केजी ग्यास, १६ करोड रुपैयाँको ७३ हजार १५१ वटा इन्डक्सन र ५ करोड ६२ लाख रुपैयाँको २५ हजार ८९७ वटा इन्फ्रारेड आयात भएको थियो।
इन्डक्सन र इन्फ्रारेड आयातमा भन्सार महसुल १ प्रतिशत मात्र लाग्छ।
इन्डक्सनको बिक्री निरन्तर बढ्दा पनि ग्यास खपत किन घट्न सकेको छैन त?
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले इन्डक्सन किन्ने पूर्णरुपमा त्यसमा निर्भर नरहेका कारण ग्यासको खपत नघटेको बताए।
‘हामीकहाँ ग्यास र इन्डक्सन चुल्हो दुवैको प्रयोग भइरहेको छ। चुल्हो किनेकाहरू पूर्णरुपमा त्यसमै भर नपरेका कारण ग्यासको खपत नघटेको हो,’ उनले भने, ‘इलेक्ट्रिक चुल्हो मात्र प्रयोग गर्ने हो भने ग्यासको खपत कम हुन्छ।’
सरकारको पछिल्लो तथ्यांक अनुसार ४४ प्रतिशत उपभोक्ताले ग्यास, ५ प्रतिशतले विद्युतीय चुल्हो र ५१ प्रतिशतले दाउरा गुइँठा र बायोग्यास प्रयोग गर्ने गरेका छन्।
पछिल्लो समय सहरीकरण बढेकाले दाउरा र गुइँठाको प्रयोग घट्दो तथा इन्डक्सन र ग्यासको प्रयोग बढ्दो छ। होटल रेस्टुरेन्टले ग्यास नै खपत गर्छन्। ग्रामीण क्षेत्रमा ग्यास प्रयोग गर्नेको संख्या विस्तारै बढे पनि इन्डक्सन चुल्हो भने खासै पुगेको छैन।
विद्युतीय चुल्होका कारण बिजुलीको खपत कति बढेको भन्ने छुट्टै तथ्यांक छैन। विद्युतीय चुल्हो प्रयोग गर्ने घरधुरी करिब चार लाख पुगेको राष्ट्रिय निर्धारित योगदानले जनाएको छ। यसको प्रयोग १० वर्षमा २१ लाख घरधुरी बनाउने लक्ष्य छ।
निगमका अनुसार ग्यासको खपत भने दैनिक एक लाख सिलिण्डर हुने गरेको छ।