काठमाडौं। ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली नासा एक्स सञ्चालनमा ल्याएको छ। देश, विदेशमा रहेका ग्राहकहरुलाई छिटोछरितो सेवा दिन नयाँ कारोबार प्रणाली सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आइतबार दरबारमार्गको लालकोलोनीमार्गस्थित नासा सेक्युरिटिजको कार्यालयमा कारोबार प्रणाली नासा एक्स सञ्चालनको शुभारम्भ गरे। नासा एक्सले चार लाख बढी लगानीकर्तालाई सेयर कारोबार गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विश्वमा प्रचलित कारोबार अभ्यासहरुलाई समेट्दै प्रविधिको प्रयोग गरेर नासा एक्स सञ्चालनमा ल्याइएको हो।
ग्राहकहरुले नयाँ वेब र मोबाइल प्लेटफर्ममार्फत आफ्नो कारोबारको पूर्ण जानकारी राख्न सक्नेछन्। यसमा प्रयोगकर्ताले तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेट जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन्।
नासा सेक्युरिटिज नेपालको अग्रणी ब्रोकर कम्पनी हो। पूर्ण रुपमा एकीकृत ट्रेडिङ पूर्वाधार ल्याएर पुँजी बजारको कोसे ढुंगा साबित हुने दिशामा पहलकदमी लिएको कम्पनीको भनाइ छ।
रियलटाइम इन्फर्मेसन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकहरुले आफैं रकम झिक्न सक्ने, प्रतिक्रिया र समस्या रिपोर्टका लागि च्याट बोट, केवाइसी ट्रेडिङ, खाता विवरण, टिकटको लागि एकल साइन-इन सुविधा ग्राहकले पाउनेछन्।
यस्तै, नासा वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल छ। कम्पनीले इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ विशेषता भित्र्याउने काम अगाडि बढाएको जनाएको छ।
प्रयोगकर्ताले चार्टबाट सिधै खरिदबिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन्। यसले लगानीकर्ताहरुलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिदबिक्री आदेशका लागि पुनः टीएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिनेछ।