BIZMANDU
www.bizmandu.com

ट्राफिक प्रहरीले सवारीधनीलाई हस्तान्तरण गर्‍यो चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर

२०८२ जेठ २५

ट्राफिक प्रहरीले सवारीधनीलाई हस्तान्तरण गर्‍यो चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर
ट्राफिक प्रहरीले सवारीधनीलाई हस्तान्तरण गर्‍यो चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २२ वटा दुई पाङग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल सम्बन्धित धनीलाई आइतबार हस्तान्तरण गरेका हुन्।

कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

ट्राफिक प्रहरीले बुझाइएका २२ वटा सहित ४ सय ६७ वटा सवारीसाधन गत साउन महिनादेखि हालसम्म धनीलाई जिम्मा लगाइसकेको जनाएको छ। चोरीका ४४ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा, २०८०/०८१ मा ४१७ वटा र २०८१/०८२ को हालसम्ममा ४ सय ६७ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले अनुरोध गरेका छन्।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।