काठमाडौं। देशभरका ५२ विमानस्थलमध्ये अहिले १८ वटा सञ्चालनमा छैनन्। कुनै समय सडक पूर्वाधार नहुँदा विमानस्थलको विकल्प थिएन। कतिपय ठाउँमा नेताहरुले आफ्नो प्रभाव देखाउन पनि विमानस्थल बनाए। जे भए पनि खासगरी पहाडी क्षेत्रका विमानस्थल सडक सञ्जाल विस्तारपछि प्रयोगविहीन भइरहेका छन्।
यस्तो बेला पनि सरकारले नयाँ विमानस्थल निर्माणको योजना अगाडि सारेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत तेह्रथुमको चुहानडाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरमा विमानस्थल निर्माणको योजना अगाडि सारिएको हो।
चुहानडाँडा, अजयमेरु र उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भनिएको छ।
तेह्रथुमको चुहानडाँडामा प्रधानमन्त्री केपी ओली र डडेल्धुराको अजयमेरुमा कांग्रेस सभापति शेरबहादुर देउवालाई खुशी तुल्याउनका लागि विमानस्थल निर्माणको योजना अगाडि सारिएको हो। तेह्रथुम ओली र डडेल्धुरा देउवाको गृह जिल्ला हो भने उदयपुर देउवाले मन पराउने कांग्रेस नेता डा. नारायण खड्काको जिल्ला हो।
यसअघि बाध्यता र नेताहरुको दबाबमा बनाइएका एकपछि अर्को विमानस्थल धमाधम बन्द भइरहँदा स्रोतको चर्को दबाबमा रहेको सरकारले फेरि विवादास्पद योजना अगाडि सारेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतम सरकारले आवश्यकता र औचित्यका आधारमा भन्दा पनि नेताहरुको प्रभाव देखाउन विमानस्थल निर्माणको योजना अगाडि सारेको बताए।
‘यसअघि बनाइएका विमानस्थलमध्ये एक तिहाइ बन्द अवस्थामा छन्। विगतमा विकल्प नहुँदा बनाइएका विमानस्थल अहिले सडक सञ्जालका कारण चलेका छैनन्। संचालनमा रहेका विमानस्थलमध्ये कतिपयमा आक्कलझुक्कल मात्र उडान हुने हो। यो वास्तविकतालाई बेवास्ता गरी नयाँ विमानस्थल निर्माणको योजना ल्याउनु भनेको राष्ट्रिय ढुकुटीको पैसा नेताहरुले जेमा खर्च गरे पनि हुन्छ भन्ने सन्देश दिनु हो,’ गौतमले भने, ‘बजेटमा प्रस्ताव गरिएका ठाउँमा विमानस्थलको आवश्यकता नै छैन। अर्को कुरा ती ठाउँमा विमानस्थल सञ्चालन गर्ने व्यावसायिक आधार पनि देखिंदैन।’
अहिले दुर्गम गन्तव्यमा विभिन्न ४ वटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्। तर, यात्रु अभावमा उनीहरुले जहाज र उडान बढाएका छैनन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले नै आन्तरिक उडानका लागि जहाज थपेको छैन। उसले आन्तरिक उडानमा जम्मा दुई वटा ट्वीनअटर जहाज चलाइरहेको छ।
सहज जीवनयापनको खोजीमा बसाइसराई बढेका कारण पहाडी क्षेत्रका बस्ती रित्तिंदै गएका छन्। ती बस्तीमा सडक प्रयोग गर्नेहरुकै संख्या पातलिएको छ। मानिसको ओहोरदोर निकै कम भएको छ। यो देखेरै तारा, समिट र सीता एयरले नियमित व्यावसायिक उडानका लागि नयाँ जहाज किन्ने हिम्मत गरेका छैनन्, लगानी डुब्ने भयले।
तर, सरकार डडेल्धुरा र तेह्रथुममा विमानस्थल बनाउन कस्सिएको छ। ‘डडेलधुरामा किन चाहियो विमानस्थल? जबकि डोटी, बैतडी, दार्चुला र कञ्चनपुरकै विमानस्थल चलेको छैन,’ क्यानका पूर्वमहानिर्देशक गौतमले भने, ‘आवश्यकताले भन्दा पनि सीधासाधा जनतालाई आफू विकासप्रेमी भएको देखाउने नौटंकी हो।’
भइरहेको विमानस्थल भन्दा प्रस्तावित विमानस्थल पहाडमा कम्तीमा ३० नटिकल माइल र तराईमा ४० नटिकल माइलको दूरीमा हुनुपर्छ आवश्यक पर्छ।
बजेटमा प्रस्ताव गरिएको उदयपुरको सगरमाथा विमानस्थल राजविराज विमानस्थलबाट १४ नटिकल माइल र विराटनगर विमानस्थलबाट ३२ नटिकल माइल दूरीमा पर्छ। त्यसैले त व्यावसायिकरुपमा मात्र नभइ प्राविधिक रुपमा पनि उदयपुरमा विमानस्थल आवश्यक छैन भन्छन् हवाई विज्ञहरु।
विमानस्थल थोरै पैसामा बन्ने पूर्वाधार होइन। ठूलो रकम आवश्यक पर्छ। ‘प्रस्तावित ठाउँ हेर्दा चुहानडाँडा र उदयपुरमा ३/३ अर्ब तथा अजयमेरुमा ८ अर्ब रुपैयाँ खर्च हुने पर्यटन मन्त्रालयका अधिकारीहरुको अनुमान छ।
‘सरकारसँग आर्थिक क्षमता भएको अवस्थामा विमानस्थल लगायत पूर्वाधार विकास गर्नु राम्रो कुरा हो। तर, हामी अहिले सहज अवस्थामा छैनौं। सरकारले अनिवार्य दायित्व नै भुक्तानी गर्न नसकिरहेको अवस्था छ। अर्को कुरा पूर्वाधारमा लगानी गर्दा प्रतिफल पनि हेर्नुपर्छ,’ मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘बजेटमा औचित्य र आवश्यकताका आधारमा राखिएकै होइन। बजेटमा राखेर बन्ने पनि होइन। यो त जनतालाई झुक्याउने एउटा फण्डा मात्र हो। डीपीआरका नाममा केही पैसा भने स्वाहा हुन्छ।’
तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले प्राविधिकरुपमा नमिल्ने धरानमा विमानस्थल निर्माणका लागि डेढ वर्षअघि निकै जोडबल गरेका थिए। तर, क्यानका प्राविधिकहरुले धरानमा विमानस्थल बनाउन कुनै हालतमा मिल्दैन भनेर प्रतिवेदन बुझाएपछि उनी चुप लाग्न बाध्य भएका थिए।