काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता छुट्याएको छ।
आयोजना प्रभावितहरुमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २, साविक गोली गा.विस वडा नं.१, २, ३, ४, ५ का स्थानियहरुले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित स्थानीयले असार १३ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। ढिलोमा असार २९ गतेसम्म निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता सेयर छुट्याइएको छ। कम्पनीको आइपीओमा १० देखि १० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा गएकाहरुका लागि छिटोमा जेठ ३० र ढिलोमा असार १३ गतेसम्म निष्कासन खुला रहनेछ।
कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
हिम स्टारले चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासनको अनुमतिका लागि २०८० मंसिरमा सेबोनमा आवेदन दिएकामा जेठ ९ गते अनुमति पाएको हो।
विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ नोक्सानीमा छ। कम्पनीको प्रति सेयर नेटवर्थ ९९.१८ रुपैयाँ र प्रति सेयर आम्दानी ०.२१ रुपैयाँ ऋणात्मक छ।