‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन,’ अहिले यही वाक्यलाई पुष्टि गरिरहेको छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनाढ्य इलन मस्कले।
ट्रम्पलाई दोस्रोपटक ह्वाइट हाउसमा पुर्याउन मस्कले आफ्नो सबै शक्ति खर्चिए। ट्रम्पले पनि मस्कलाई सरकारी खर्च कटौती गर्ने जिम्मेवारी दिँदै ह्वाइट हाउसमा प्रवेश गराएका थिए।
‘तपाईहरुलाई म भन्न चाहन्छु कि हामीसँग नयाँ स्टार छन्.. नयाँ स्टार जन्मिएका छन्, इलन। मस्क सुपर जिनियस छन्। हामीले उनीहरुको जिनियसनेस रक्षा गर्नुपर्छ। हामीसँग त्यस्तो व्यक्ति धेरै छैनन्,’ राष्ट्रपतिमा निर्वाचित भएपछि इलन मस्कका बारेमा ट्रम्पले भनेका थिए।
मस्कले पनि सोही दिन एक्समा अमेरिकी झण्डालाई सलाम गरेर लेखेका थिए, ‘अमेरिकामा फेरि बिहान भयो।’

केही समयअघि सम्म अत्यन्तै मिल्ने यी दुई शक्तिशाली व्यक्ति अहिले त्यही एकअर्काका प्रतिद्वन्दी जस्तै देखिएका छन्। उनीहरु खुला रुपमा सामाजिक संजालमै मुखामुख गरिरहेका छन्।
कसरी बिग्रियो सम्बन्ध ?
ट्रम्प प्रशासनमा मस्कलाई रुचाउने धेरै छैनन्। उनले खर्च कटौतीको नाममा कर्मचारीहरुलाई मेल पठाएर आतंकित पारेको भन्दै धेरै असन्तुष्ट थिए। यद्यपि, ट्रम्पले भने मस्कको बचाउ गर्दै आएका थिए।
तर, गत साता एकाएक ट्रम्पले मस्कलाई ह्वाइट हाउसबाट बिदा गरे। त्यसपछि मस्कले ट्रम्पले हस्ताक्षर गरेको बजेट विधेयकको आलोचना गरे। त्यहीँबाट दुईजनाबीचको सम्बन्धमा थप दरार आयो।

एक्स (पहिला ट्वीटरमा)मा मस्कले विधेयकलाई ‘डिस्गस्टिङ एबोमिनेसन’ (घृणित विकृति) भन्दै चर्को आलोचना गरेका थिए। मस्कले बजेट विधेयकले अमेरिकी राष्ट्रिय ऋणलाई डरलाग्दो रूपमा बढाउने चेतावनी पनि दिएका छन्। उनले सो बजेट विधेयकको पक्षमा मत दिनेहरुले गलत गरेको प्रतिक्रिया दिएका थिए।
जवाफमा ट्रम्पले मस्कको प्रतिक्रियाले आफू ‘निराश’ र ‘आश्चर्य’मा परेको बताएका थिए।
त्यसपछि सामाजिक संजालमा सुरु भयो यी दुई बीच आरोप प्रत्यारोप।
मस्कले बजेटको मात्र आलोचना गरेका छैनन्। ट्रम्पले वैश्विक अर्थतन्त्र प्रभावित हुने गरि लगाएको करले मन्दी ल्याउने पनि बताएका छन्। यस्तै, ट्रम्पमाथि मस्कले जेफ्री इपस्टिनको सम्बन्ध बारे पनि उल्लेख गरेका छन्। उनले इपिस्टिन फाइलमा ट्रम्पको नाम भएको र त्यो सार्वजनिक नगरिएको आरोप लगाएका छन्। त्यतिमात्र होइन उनले स्पेसएक्सको ड्रागन स्पेसक्राफ्ट खारेज गर्ने चेतावनी पनि दिएका छन्।
त्यसपछि ट्रम्पले मस्क ‘क्रेजी’ भएको भन्दै उनलाई सरकारले दिँदै आएको ‘कन्ट्रयाक्ट’हरु रद्द गर्ने चेतावनी नै दिएका छन्। ट्रम्पले मस्क ‘क्रेजी’ भएको प्रतिक्रिया पनि दिए। ह्वाइट हाउसले पनि मस्कको आरोपको खण्डन गरेको छ।
मस्कले पनि प्रतिक्रियामा ट्रम्पलाई अघि बढ्न भन्दै लर्कारेका छन्। मस्कको एक्स अकाउन्ट अहिले ट्रम्पको आलोचनाले भरिएको छ। मस्कले पहिला ट्रम्पले उल्लेख गरेका कुराहरु फेरि सेयर गरेर प्रश्न गरिरहेका छन्।

ट्रम्पसँगको सम्बन्ध बिग्रिएपछि मस्कको टेस्लाको सेयर मूल्य १४ प्रतिशत घटेको छ। विश्लेषकहरुका अनुसार मस्क अहिले एक्लै छन्। उनी ट्रम्प प्रशासनसँग जित्न त सक्दैनन् तर ठूलो राजनीतिक मूल्य भने चुकाउनुपर्ने हुन सक्छ।