काठमाडौं। श्रीलंकाको ध्वजावाहक वायुसेवा कम्पनी श्रीलंकन एयरलाइन्सले एयरबस ३३०-२०० जहाज खरिद गरेको छ। अब सो विमान कम्पनीको जहाज संख्या २२ पुगेको छ।
एयरबस ३३०-३००, एयरबस ३२० सिरिजका जहाजमार्फत उडान सेवा दिँदै आएको यो वायुसेवाले एक जहाज किनेसँगै गन्तव्य विस्तारको योजना बनाइरहेको छ।
नेपालमा श्रीलंकन एयरलाइन्सले साताको ४ वटा व्यावसायिक उडान गर्दै आएको छ। हाल एयरबस ३२० (न्यारोबडी जहाज) मार्फत नेपालमा नियमित व्यावसायिक उडान गर्दै आएको यो वायुसेवाले यात्रुको माग अनुसार एयरबस ३३०-२०० सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारी गरिरहेको जीएसए जेनिथ ट्राभलले जनाएको छ।
कम्पनीले निकट भविष्यमा दुईतर्फी हवाई यात्रुको माग आएको अवस्थामा यो जहाज नेपाल उडान प्रयोगमा ल्याउने योजना बनाएको जेनिथका प्रबन्धक दीपक मैनालीले जानकारी दिए।
उनका अनुसार हाल श्रीलंका-नेपाल उडानमा यात्रु सहभागिता सन्तोषजनक नै छ। काठमाडौं-कोलोम्बो उडानमा यात्रु अकुपेन्सी ९० प्रतिशत रहँदै आएको उनले जानकारी दिए।