काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डका व्यवस्थापक ग्लोबल इक्विटी फण्ड लिमिटेडले आज ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनामा लगानीको घोषणा गरेको छ। यो आयोजना ऊर्जा डेभलपर्सले आफ्नो सहायक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेडमार्फत विकास गरिरहेको छ।
माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजना एक रन-अफ-रिभर प्रकारको आयोजना होर उसले राष्ट्रिय प्रसारण लाइनमा ठोस योगदान पुऱ्याउँदै देशको हरित ऊर्जा उद्देश्यहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाका प्रवर्द्धक ऊर्जा डेभलपर्स, नवीकरणीय ऊर्जा क्षेत्रका लागि एक समग्र समाधान प्रदायक हो। यसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन-न्युट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।
ग्लोबल इक्विटी फण्ड लिमिटेडद्वारा व्यवस्थित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डबाट प्राप्त लगानीले नेपालको जलविद्युत क्षेत्रमा विश्वासको मत दर्शाउने विश्वास लिइएको छ। ग्लोबल इक्विटी फण्ड लिमिटेड नेपाल धितोपत्र बोर्ड बाट इजाजत प्राप्त पहिलो निजी इक्विटी/भेञ्चर क्यापिटल फण्ड म्यानेजर हो। यसले विभिन्न आकार र केन्द्रका बहु कोषहरू व्यवस्थापन गर्दै पूर्वाधार विकासमा महत्वपूर्ण पुँजी प्रवाह गरिरहेको छ।
उर्जाका प्रबन्ध निर्देशक भानु पोखरेलले भने, ‘हामी ग्लोबल इक्विटी फण्डसँग यसको स्थायी पूँजी संरचना नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डमार्फत साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। यो लगानी माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाको सम्भाव्यता र महत्वको प्रमाण हो। यसले हामीलाई हाम्रो १ गिगावाटको लक्ष्यको नजिक मात्र पुऱ्याउने छैन, नेपालको स्वच्छ ऊर्जा लक्ष्य र म्याग्दी जिल्लाको स्थानीय विकासमा पनि महत्वपूर्ण योगदान पुऱ्याउनेछ।’
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डका अध्यक्ष डा. मनिष थापाले भने, ‘माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनामा हाम्रो लगानी नेपालमा दिगो पूर्वाधार विकासलाई बढावा दिने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ। हामी विश्वास गर्छौँ कि बलियो जलविद्युत आयोजनाहरू नेपालको ऊर्जा स्वतन्त्रता र आर्थिक समृद्धिको लागि आधारभूत छन्। ऊर्जा डेभलपर्ससँग स्पष्ट दृष्टिकोण छ, र हामी उनीहरूलाई यो महत्वपूर्ण प्रयासमा सहयोग गर्न पाउँदा गर्व गर्दछौं।”