काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोत जुटाउन निक्कै चुनौती रहेको बताएका छन्।
उनले बुधबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै बजेटमा लिइएका लक्ष्य पूरा गर्न सहज नरहेको बताए।
‘बजेटलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन खोजिएको छ। आकार, विनियोजन कुशलता, स्रोत सदुपयोगलगायत विषयमा कुनै पनि कोणबाट कमी हुन नदिन सावधानी अपनाइएको छ,’ उनले भने, ‘तर, बजेटको स्रोत जुटाउन सकसपूर्ण छ। आर्थिक वृद्धि र मुद्रास्फीतिको वाञ्छित सीमा कायम गर्न पनि चुनौतीपूर्ण छ।’
उनले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए। त्यसमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने भनिएको छ। अरु स्रोत वैदेशिक सहयोग र आन्तरिक ऋणबाट जुटाउने भनिएको छ। बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य छ। यस्तै मुद्रास्फीतिलाई साढे ५ प्रतिशतमा सीमित गर्ने भनिएको छ।
बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसेकेको बताए।
‘बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन। बजेट दृढ सोचबिनाको छ। यसले आजको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन। यो प्रशासनिक वित्तिय बजेट मात्रै हो, यो काम चलाउ बजेट हो,’ उनले भने।
उनले रोजगारी सिर्जना र क्रय शक्ति नबढेका कारण बजारमा आर्थिक शिथिलता देखिएको तर त्यसलाई चिर्न बजेटमा कुनै कार्यक्रम नल्याइएको उनको भनाइ छ।