BIZMANDU
www.bizmandu.com

समाजसेवामा आफ्नै शैली : क्यान्सरका बिरामीलाई दिनको ३ घण्टा अटोरिक्सा निःशुल्क

२०८२ जेठ २१

समाजसेवामा आफ्नै शैली : क्यान्सरका बिरामीलाई दिनको ३ घण्टा अटोरिक्सा निःशुल्क
समाजसेवामा आफ्नै शैली : क्यान्सरका बिरामीलाई दिनको ३ घण्टा अटोरिक्सा निःशुल्क

चितवन। यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई दिनको ३ घण्टा निःशुल्क सेवा दिँदै आएका छन्। हरेक दिन बिहान ७ देखि १० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन्।

Tata
GBIME

पर्साको ठोरी-१ का २६ वर्षीय आकाश अर्यालले यस्तो गरिरहेका हुन्। पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ। चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका अर्यालले क्यान्सरपीडित धेरै बिरामीका कहानी सुने। कतिपयले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे।

‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने भनेर निःशुल्क सेवा सुरु गरेँ,’ अर्याल भन्छन्। यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन्। उनले हरेक बिहान ७ देखि १० बजेसम्म पुल्चोकबाट क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएका छन्।

उनले भने, ‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ।’ पश्चिमबाट आउने बसहरूले धेरै बिरामीलाई पुल्चोकमा झार्ने उनले देखेका छन्। त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए।

बसमा नारायणगढ झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैंले बस–बसमा गएर खबर गर्छन्। १० बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् भने एक जना बिरामीको भाडा छुट दिन्छन्। बाटोमा वृद्धवृद्धा हिँडिरहेको देखे भने पनि निःशुल्क गन्तव्यसम्म पुर्‍याइदिन्छन्।

अर्याल व्यावसायिक अटोचालक हुन्। त्यही आम्दानीले परिवार चलाएका छन्। उनी विदेश जाने तयारीमा थिए। मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाउँछन्। भन्छन्, ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु।’ रासस