रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा पञ्जाव किंग्सलाई ६ रनले हराउँदै बेङ्ग्लुरु पहिलो पटक च्याम्पियन बनेको हो।
भरी रंगशालामा सम्पन्न फाइनल खेलमा पञ्जाव किंग्सका कप्तान श्रेयस ऐय्यरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
सुरुवाती ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो।
बेङ्ग्लुरुका लागि बिराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पतिदारले २६, लिआम लिभिङ्स्टोनले २५ तथा जितेश शर्मा र मयंक अग्रवालले समान २४ रनको योगदान दिए।
बलिङमा पञ्जावका अश्रदीप सिंह र केल जिमिइसनले समान ३ विकेट लिँदा अजमतुल्लाह ओमरजाइ, विजयकुमार ब्यास र युजवेन्द्र चहलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाव शशांक सिंहको आक्रामक अर्धशतकको बावजुत ७ विकेट गुमाएर १८४ रनमा समेटियो। सिंहले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६१ रन बनाउँदा जोस इन्ग्लिसले ३९, प्रभासिमरन सिंहले २६ तथा प्रियांश आर्याले २४ रन बनाए। बलिङतर्फ बेङ्ग्लुरुका भुवनेश्वर कुमार र क्रुणाले पाण्ड्याले २ तथा यस दयाल, जोस हेजलवुड र रोमारिय शेपार्डले समान १ विकेट लिँदै पञ्जावलाई लक्ष्यसम्म पुग्न रोके।