BIZMANDU
www.bizmandu.com

सेयर बजारलाई एकपछि अर्को नीतिगत सपोर्ट, लगानीकर्ता लो-क्याप कम्पनीबाट सिफ्ट भएका हुन्?

२०८२ जेठ २०

सेयर बजारलाई एकपछि अर्को नीतिगत सपोर्ट, लगानीकर्ता लो-क्याप कम्पनीबाट सिफ्ट भएका हुन्?
सेयर बजारलाई एकपछि अर्को नीतिगत सपोर्ट, लगानीकर्ता लो-क्याप कम्पनीबाट सिफ्ट भएका हुन्?


काठमाडौं। सेयर बजार इन्डेक्समै उतारचढाव ल्याउने गरेका ‘लो-क्याप’ कम्पनीबाट लगानीकर्ता ठूला कम्पनीतिर सिफ्ट हुन थालेका छन्।

Tata
GBIME

नेप्से बुलिस हुँदा सेयर कित्ता थोरै भएका कम्पनीको मूल्य अस्वाभाविक रुपमा उचालिने गरेकामा अहिले ठूला कम्पनीको सेयर कारोबार बढ्न थालेको छ।

नेप्से परिसूचक अहिले २६९३ अंकमा छ। बजार गत बुधबार १७.४४ अंकले बढ्दा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भयो। बैंकिङ सूचक सर्वाधिक १.८८ प्रतिशतले बढ्दा १८ वटा वाणिज्य बैंकको सेयर मूल्य उकालो लाग्यो। त्यसपछि सिधै सोमबार बजारमा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भयो। सोमबार होटल तथा पर्यटनको सूचक सर्वाधिक २.३९ प्रतिशतले बढ्यो।

सेयर बजारको बुलिस ट्रेन्डमा लो-क्याप कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा उचालिएकामा पछिल्लो समय बजारमा ठूलो आकारको सेयर भएका कम्पनीहरुको कारोबार बढ्न थालेको छ। पुँजी धेरै भएका कम्पनीमा लगानीकर्ता आकर्षित भएको देखिन्छ।

लो-क्याप कम्पनीको सेयर मूल्यमा भएको म्यानुपुलेसन नटिकेका कारण लगानीकर्ता अरु कम्पनीतिर सिफ्ट भएको जानकारहरु बताउँछन्।

‘आधारभूत सूचकभन्दा सेयर मूल्य धेरै उचालिएका कम्पनीहरुमा लगानी गरेकाहरुले गुमाए। अहिले बजार घट्दा फण्डामेन्टल आइजमा लोक्याप कम्पनीको मूल्य आएको छ,’ स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष सन्तोष मैनालीले भने, ‘लगानी गुमाएकाहरुमा सचेतना पनि बढेको हो कि भन्ने देखिन्छ। अब फण्डामेन्टल रुपमा बलियो नभएका कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने परेको छ।’

गत असारमा सत्तापलटले सेयर बजार उकालो लाग्दा लोक्याप कम्पनीको मूल्य धेरै बढेको थियो। सेयर संख्या थोरै भएका फाइनान्स र विकास बैंकको मूल्यमा अस्वाभाविक उछाल आएको थियो।

नेप्से डेढ महिनामा ४६ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको सेयर मूल्य प्रति कित्ता ४८७ रुपैयाँबाट २६१४ रुपैयाँसम्म पुगेको थियो। त्यो मूल्य अहिले ६१९ रुपैयाँ छ।

मूल्य बढाउन चलखेल गर्नेहरु फाइनान्सपछि विकास बैंकतिर लागे। नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। विकास बैंकपछि कहिले हाइड्रोपावर, कहिले इन्भेष्टमेन्ट र ट्रेडिङ समूहका कम्पनीको मूल्य उचालियो।

तेस्रो त्रैमासको वित्तीय विवरणले सुधारको संकेत देखाएकाले अहिले लगानीकर्ता वित्तीय अवस्था राम्रो भएका ठूला कम्पनी लगानीकर्ताको रोजाइमा परेको जानकारहरु बताउँछन्।

‘लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिन्छन्। लगानीकर्तासँग धेरै छनोटको अप्सन छैन। त्यसैले वित्तीय अवस्था राम्रो देखिएका ठूला कम्पनीतिर लगानी बढाएको देखिन्छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने।

चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा उत्पादन तथा प्रशोधन र होटल क्षेत्रका कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएको छ। उनीहरुले नाफा बढेको विवरण निकालेका छन्।

घाटामा गएका कम्पनीले समेत नोक्सानी घटाएका छन्। व्यवसाय खुम्चिएका कारण सेयरधनीलाई प्रतिफल दिन नसक्ने भएका कम्पनीहरुले समेत वित्तीय अवस्थामा सुधार गरेका छन्।

फागुन तेस्रो सातापछि एकै विन्दुमा घुमिरहेको बजारले एकपछि अर्को नीतिगत सपोर्ट पाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ। जेठ पहिलो साता राष्ट्र बैंकको नेतृत्व सम्हालेका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक समीक्षामार्फत बजारको हित अनुकूल काम गर्ने सन्देश दिएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले‍ पनि बजेटमा बजारविरोधी व्यवस्था ल्याएका छैनन्। ‘बजेटमा पुँजीगत लाभकर १० प्रतिशत पुर्‍याउनेसम्मका कुरा आएका थिए जसले लगानीकर्ता निराश बनेका थिए। तर, अर्थमन्त्रीज्यूले सेयर बजारलाई नकारात्मक असर पार्ने कुरा केही ल्याउनु भएन। बजारको विकासकै कुरा गरिएको छ। यसले सकारात्मक संकेत देखाउँछ। पहिले जस्तो अनप्रेडिक्टेबल पोलिसी नआउनु नै राम्रो पक्ष हो,’ एक विश्लेषकले भने।