काठमाडौं। आर्थिक वर्ष सकिने मिति नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु ऋण असुलीतर्फ केन्द्रित भएका छन्। ब्यालेन्स सिट राम्रो देखाउन बैंकहरु ऋण असुलीतर्फ केन्द्रित भएका हुन्।
अपेक्षाजनक रुपमा लगानी बढाउन नसकेका बैंकहरु यसपालि पनि ऋण असुलीबाटै ब्यालेन्स सिट राम्रो देखाउनुपर्ने दबाबमा छन्। ब्याजदर घट्दै गइरहे पनि व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरुलाई ऋण असुली गरेर वार्षिक रिपोर्ट राम्रो बनाउनुपर्ने चुनौती छ।
नयाँ व्यवसाय बढाउन नसकेको अवस्थामा असुलीमा केन्द्रित भइ एनपीए घटाउनु पर्ने र नाफा बढाउनु पर्ने चुनौती रहेको बैंकरहरु बताउँछन्। लगानी अपेक्षाजनक नरहेको र कर्जा नोक्सानी बढिरहेको बेलामा असुली बाहेकको विकल्प नरहेको उनीहरुको भनाइ छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले जेठ दोस्रो सातादेखि ऋण असुलीलाई प्राथमिकतामा राखेको बताए।
‘यो आर्थिक वर्ष सकिन अब डेढ महिना पनि बाँकी छैन। पछिल्लो डेढ महिनामा कर्जा लगानी खासै बढेको छैन। तर, निक्षेपको वृद्धिदर राम्रो छ,’ उनले भने, ‘लगानी बढाउन नसकिरहेको बेला निक्षेप थुप्रिनु भनेको लागत बढ्नु हो। त्यही कारण हामी अहिले लगानी विस्तार गर्ने भन्दा पनि ऋण असुलीमा केन्द्रित छौं।’
चालु आर्थिक वर्ष ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको औ;त खराब कर्जा १.३८ प्रतिशत विन्दुले वृद्धि भएको छ। चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा (एनपीए) ५.२४ प्रतिशत छ। बढ्दो एनपीएका कारण कर्जा नोक्सानी बढिरहेको छ।
कर्जा नोक्सानी बढ्नु भनेको बैंक तथा वित्तीय संस्थाहरुको नाफामा संकुचन हुनु हो। कर्जा नोक्सानीका लागि छुट्याएको रकम ऋण असुलीपछि नाफामा देखिने भएपनि अहिलेलाई भने असर गर्छ।
राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल पनि जेठ लागेपछि कर्जा असुलीमा केन्द्रित भइरहेको बताउँछन्।
‘अहिले नयाँ व्यवसायका लागि ऋणको माग सुस्त छ। बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ। लगानी बढाउन नसक्दा थुप्रिएको तरलताले नाफा घटाउँछ,’ उनले भने, ‘अन्तिम त्रैमासमा वित्तीय विवरण राम्रो बनाउनु पर्ने चुनौती हुन्छ। त्यसैले हामी अहिले ऋण असुलीमा केन्द्रित भइरहेका हौं।’
राष्ट्रिय वाणिज्य बैंकले ऋण असुलीका लागि ठूलो टिम परिचालन गरेको छ। ‘अझै पनि धेरैले कर्जा तिर्न नसकेको अवस्था छ। धेरैले कर्जा तिर्न समय मागेका छन्। केहीले कर्जा तिर्न सक्दिन भनेर हात उठाएको अवस्था पनि छ,’ खनालले भने ।
कोभिड्कालमा राष्ट्र बैंकले दिएको सुविधाका कारण बैंकहरुले एग्रेसिभ रुपमा दिएको कर्जामध्ये अधिकांश प्रयोजन बाहिर खर्च भएकाले तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार नभएकाले असुली प्रभावित भइरहेको हो।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष रहेका सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ वर्षको अन्तिममा असुलीमा ध्यान केन्द्रित गर्नु बै्क तथा वित्तीय संस्थाको नियमित तालिका जस्तै भएको बताउँछन्।