BIZMANDU
www.bizmandu.com

वैदेशिक लगानी बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम’ आयोजना हुँदै

२०८२ जेठ १९

वैदेशिक लगानी बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम’ आयोजना हुँदै
वैदेशिक लगानी बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम’ आयोजना हुँदै


काठमाडौं। नेपालमा वैदेशिक लगानी प्रवाह बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ। कार्यक्रम जुन ५ सम्म चल्नेछ।

Tata
GBIME

यस कार्यक्रम नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)सँगको सहकार्यमा ‘इन्भेष्ट फर इम्प्याक्ट नेपाल’ (आईआईएन) ले आयोजना गर्न लागेको हो।

तेस्रो संस्करणमा ‘रिब्रान्ड’ गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको हो। पहिलो संस्करणमा ८ वटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन्स (डीएफआई) का प्रतिनिधिहरू सहभागी थिए।

दोस्रो संस्करणमा १४ वटा डीएफआई तथा इम्प्याक्ट इन्भेष्टरहरू सहभागी थिए। यसपटक पनि १४ वटा डीएफआई र इम्प्याक्ट इन्भेष्टरका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।

फोरमले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसले विश्वभरका डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन, इम्प्याक्ट इन्भेष्टरहरूलाई नेपालमा ल्याएर प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्छ।

प्रतिनिधिहरूले फोरममा नेपालमा वैदेशिक लगानीको वर्तमान अवस्थाबारे जानकारी लिन, सरकारी निकाय र नियामकहरूसँग प्रत्यक्ष संवाद गर्न र सम्भावित लगानीकर्ता संस्थाहरूसँग सम्बन्ध विस्तार गर्न सक्ने आयोजकको अपेक्षा छ। यस वर्षको फोरममा वैकल्पिक लगानी क्षेत्रलाई पनि समावेश गरिएको छ।

फोरमको पहिलो दिन उच्चस्तरीय प्रविधिक सत्रहरू संचालन हुनेछन्। ती सत्रमा वैदेशिक लगानी कसरी बढाउने, वित्तीय संस्थाहरूको लागि जलवायु संक्रमण योजना कसरी तयार गर्ने, निजी इक्विटी तथा भेञ्चर क्यापिटल उद्योग कसरी विकास गर्ने भन्ने विषयमा छलफल हुनेछ।

दोस्रो दिन सरकारी निकाय र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्य र लगानी प्रवर्धनका लागि रणनीतिक छलफल हुने कार्यक्रम छ।

तेस्रो दिन सहभागी प्रतिनिधिहरूका लागि स्थल अवलोकन कार्यक्रम राखिएको छ। उनीहरूले विभिन्न परियोजना स्थलहरूमा गई प्रत्यक्षरूपमा जानकारी लिनेछन्।

नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरमले नेपालका राष्ट्रिय प्राथमिकतासँग लगानीकर्ताको चासोलाई जोड्ने र नेपाललाई विश्व लगानी प्रणालीमा अझ गहिरो रूपमा एकीकृत गर्ने दिशामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।