BIZMANDU
www.bizmandu.com

एक एक पाइलासँगको सहकार्यले जोन्टा क्लब काठमाडौंले मसिने गाउँमा गर्‍यो स्वास्थ्य शिविर

२०८२ जेठ १९

एक एक पाइलासँगको सहकार्यले जोन्टा क्लब काठमाडौंले  मसिने गाउँमा गर्‍यो स्वास्थ्य शिविर
एक एक पाइलासँगको सहकार्यले जोन्टा क्लब काठमाडौंले मसिने गाउँमा गर्‍यो स्वास्थ्य शिविर


काठमाडौं । जोन्टा क्लब काठमाडौंले एक एक पाइला फाउन्डेसनसँगको सहकार्यमा मसिने गाउँमा बालबालिकाको स्वास्थ्य शिविर आयोजना गरेको छ। यस पहलको उद्देश्य यस क्षेत्रका सीमान्तकृत बालबालिकालाई आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउनु रहेको संस्थाले जनाएको छ।

Vigo
GBIME
Tata

जेठ १० गते चम्पा शिखर आधारभूत विद्यालयमा संचालित शिविरमा आँखा, दाँत र बालरोगको उपचारमा केन्द्रित भई ५० भन्दा बढी बालबालिकालाई विस्तृत चिकित्सा सेवा प्रदान गरिएको थियो। स्वयंसेवी स्वास्थ्यकर्मीहरूको टोलीले आफ्नो समय र विशेषज्ञताको उदारतापूर्वक योगदान दिएका थिए।

स्वयंसेवी चिकित्सा टोलीमा कन्सल्ट्यान्ट डेन्टिस्ट डा. बिनिता अधिकारी, जनरल फिजिसियन डा. सजनी डंगोल, अप्टोमेट्रिस्ट कृपा श्रेष्ठ र डेन्टल नर्स पार्वती गुरुङ थिए। स्वयंसेवी टोलीको नेतृत्व जोन्टियन डा. सबिना शाह पहारीले गर्नुभएको थियो, र डा. ज्योति अर्यालले दन्त परीक्षण गर्नुका साथै दन्त सरसफाइका बारेमा पाठ सिकाएका थिए।

‘समुदायबाट प्राप्त सहभागिता देखेर हामी उत्साहित छौं र यस पहललाई सम्भव बनाउनुहुने चिकित्सा टोली, जोन्टियनहरू र स्वयंसेवकहरूको सहयोग र प्रतिबद्धताप्रति हामीे आभारी छौं,’ जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भने। 

स्वास्थ्य शिविरमा दन्त परीक्षण र दाँत निकाल्ने कार्य पनि गरिएको थियो। ५१ जना बालबालिकामध्ये ३२ जनामा दाँतसम्बन्धी समस्या देखिएकोले थप ध्यान दिनुपर्ने देखिएको संस्थाले जनाएको छ। बालरोगसम्बन्धी परामर्श पनि त्यसबेलामा उपलब्ध गराइएको थियो। र, आवश्यक औषधीहरु पनि वितरण गरिएको थियो। मुख स्वास्थ्य शिक्षा सत्रले बालबालिकालाई स्वस्थ बानीहरू अपनाउन सिकाएको संस्थाले जनाएको छ।

एक एक पाइला फाउन्डेसनमार्फत प्रत्येक बच्चाले पाउडर, मसाज तेल र साबुन भएको उपहार झोला प्राप्त गरे। शिविरलाई युनिलिभर नेपालले पनि टूथपेस्ट सहयोग गरेको थियो।

जोन्टा क्लब काठमाडौंले स्वास्थ्य, शिक्षा र सशक्तिकरणमार्फत आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ।