म्याग्दी। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ऊर्जा सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना पुगेको छ। निर्माणमा भइरहेको ढिलाइप्रति टोलीले विशेष चासो लिएको छ।
उक्त आयोजना प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले बनाइरहेको हो। टोलीले आयोजनाको स्थलगत अनुगमनपछि निर्माणलाई तीव्रता दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको छ। राजदूतावास, मन्त्रालय र प्राधिकरणको नेतृत्वबाट स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई छिटो पुरा गराउन निर्देशन प्राप्त भएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने कार्ययोजनाअनुसार काम अघि नबढेपछि भारत सरकार, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले चासो देखाएका हुन्। हालसम्म ७९.५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स र इलेक्ट्रोमेकानिकल ठेकेदार भेलले सन् २०२५ डिसेम्बर ३१ सम्मको समय मागेका छन्।
करिब ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ को नोभेम्बरमा ठेक्का सम्झौता भएको सिभिल ठेकेदारको तेस्रो पटक थप भएको म्याद सन् २०२५ जुन २७ मा सकिँदैछ। अनुगमनमा आएको टोलीसँग जयप्रकाशका व्यवस्थापक हरिश अग्रवाल र भेलका प्रतिनिधि हर्षबर्धनले म्याद थपको प्रस्ताव गरेका थिए।
राजदूत श्रीवास्तव, ऊर्जा सचिव आचार्य र प्राधिकरणका निर्देशक शाक्यले पटकपटक म्याद थप गर्दासमेत सन्तोषजनक काम हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै प्रस्तावित म्यादभित्र सम्पन्न गर्ने कार्ययोजनाप्रति विश्वास गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए।
आयोजनाको रघुगंगा गाउँपालिका-४ दग्नाम र ५ नम्बर वडाको झिँको फेदीमा बाँध, ६ किलोमिटर २ सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ। विद्युतगृहको उपकरण जडान र स्वीचयार्ड निर्माणमा भएको ढिलाइप्रति टोलीले चासो व्यक्त गरेको छ।
एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा सो सञ्चालन गरिएको हो। कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा उक्त आयोजना निर्माण अघि बढाइएको थियो। रासस