अनलाइन जुवाका अवैध प्लेटफर्महरूले भारतमा झट्ट थुप्रै पैसा दिने लोभमा नाबालिग र अनलाइन गेमिङको लत भएकाहरूलाई फसाइरहेको एक रिपोर्टले देखाएको छ।
‘यी प्लेटफर्महरूले प्रतिबन्धित खेल र वैध अपरेटरहरूले लगाउनुपर्ने करबिनै प्रयोगकर्ताहरूलाई आकर्षक भुक्तानीका लागि पासो थापेर लोभ्याउने गरेका छन्,’ रिपोर्टले खुलासा गरेको भारतीय सञ्चार संस्था पीटीआइले जनाएको छ।
यस्ता अवैध प्लेटफर्महरूमा वार्षिक १०० अर्ब अमेरिकी डलरको हाराहारीको कारोबार भइरहेको अनुमान रिपोर्टमा गरिएको छ।
क्युट्स इन्टरनेसनलद्वारा प्रकाशित ‘फिक्सिङ द ओड्स : अ पोलिसी ब्लुप्रिन्ट फर कर्बिङ इलिगल अनलाइन ग्याम्बलिङ इन इन्डिया’ नामक प्रतिवेदनले यस्तो देखाएको हो। अवैध जुवा संचालकहरूले युवा वयस्क, धेरै खर्चालु र विशेषगरी जुवा हानीबाट संवेदनशील उमेर समूहलाई लक्षित गर्न नियामक कमजोरीहरूको फाइदा उठाइरहेको रिपोर्टले उल्लेख गरेको छ।
क्युट्सको विश्लेषणले मात्र एक वर्षमा शीर्ष १५ अवैध जुवा प्लेटफर्महरू र तिनीहरूका मिरर साइटहरूमा ५.४ अर्बभन्दा बढी प्रयोगकर्ता पुगेको अनुमान गरेको छ। यसले समस्या कति गम्भीर भइसक्यो भन्ने पनि देखाएको छ।
‘समस्या कति हदसम्म छ भन्ने कुरा रिपोर्टको विश्लेषणबाट अनुमान गर्न सकिन्छ – अप्रिल २०२४ र मार्च २०२५ को बीचमा ४० मिरर साइटहरूमा शीर्ष १५ अवैध जुवा प्लेटफर्महरू ५.४ अर्बभन्दा बढी ब्राउज भएका थिए। वानएक्सबेट, स्टेक, फेयरप्ले र ब्याटरीबेट जस्ता शीर्ष प्लेटफर्महरूले निरन्तर उच्च ट्राफिक मात्रा र व्यापक प्रयोगकर्ता पहुँच दर्ता गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ।
‘मार्च २०२५ को महिनाका लागि पेरिम्याचको ट्राफिक शेयरले एमेजोन.इन, वीकीपेडियाडटओआरजी, गुगलकोइन, एक्सडटकम, हटस्टार, फ्लिपकार्ट, लिङ्डइन, कोरा र रेडिट डट कम जस्ता व्यापक रूपमा प्रयोग हुने प्लेटफर्महरूलाई पनि उछिनेको छ,’ रिपोर्टमा भनिएको छ।
इजाजतपत्र प्राप्त प्लेटफर्महरूमा अनुमति दिइएका ढिलो, सीपमा आधारित खेलहरू भन्दा फरक, अवैध साइटहरूमा द्रुत-गतिको सट्टेबाजी अप्सनहरू छन् जसले प्रयोगकर्तालाई मिनेटमै धेरै बाजीहरू खेल्न दिन्छन्। अनुसन्धानले प्रयोगकर्ताहरूको लत, व्यवहार र आर्थिक नोक्सानको उच्च दरसँग जोडिएको समस्या केलाएको छ।
यी प्लेटफर्महरूले उपभोक्ता सुरक्षा उपायहरूलाई पनि बाइपास गर्छन्। थोरै वा कुनै कागजात आवश्यक पर्दैन, जसले गर्दा नाबालिग र कमजोर व्यक्तिले भाग लिन सजिलो छ। प्रतिवेदनले उल्लेख गरेको छ कि आक्रामक मार्केटिङ, जसमा सरोगेट विज्ञापन र निजी सन्देश र बाहिरी अभियानहरूको व्यापक प्रयोग समावेश छ, जसले यी साइटहरूको पहुँचलाई अझ बढाएको छ।
‘कुल ट्राफिकको ६६ प्रतिशतभन्दा बढी, जुन ३.५ अर्बभन्दा बढी ब्राउजहरू (अप्रिल २०२४ र मार्च २०२५ बीच) हो, प्रत्यक्ष ट्राफिक मार्फत हुन्छ, जसको अर्थ प्रयोगकर्ताहरूले म्यानुअल रूपमा युआरएल प्रविष्ट गरिरहेका छन्, बुकमार्कहरू प्रयोग गरिरहेका छन्, वा निजी च्यानलहरूबाट लिङ्कहरू कपी गरिरहेका छन्,’ रिपोर्टले भनेको छ।
अवैध जुवा प्लेटफर्महरूको आकर्षण तिनीहरूको पहुँचको सहजता र तिनीहरूले सिर्जना गर्ने तीव्र, उच्च-जोखिमपूर्ण वातावरणबाट उत्पन्न हुन्छ। स्टेक र वानएक्सबेट जस्ता साइटहरूले आफ्नो डिजाइनमा उन्नत मनोवैज्ञानिक रणनीतिहरू प्रयोग गर्छन् र जोखिमपूर्ण सट्टेबाजीमा सहभागिता सहज सक्षम बनाउँछन्, जसले प्रयोगकर्ताहरूलाई खेल्न लालायित गर्छ। एड्रेनालाइन-चार्ज गरिएका सेटिङहरू विशेषगरि रोमाञ्च खोज्ने युवा र आवेगपूर्ण व्यवहार गर्नेहरूलाई आकर्षक लाग्छन्, जसले जुवासँग सम्बन्धित अनुभव लिइहालौं भन्नेलाई फसाउँछ।
यसबाहेक, अवैध जुवा सञ्चालकहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेका रणनीतिहरू प्रयोग गरेर र भारतको भुक्तानी पूर्वाधारमा रहेका कमजोरीहरू र तिनको विकल्प प्रयोग गरेर पैसाको लेनदेनलाई सहज बनाइरहेका छन्। त्यस्ता रणनीतिहरूमा भुक्तानी प्रणाली यूपीआइ, वित्तीय कारोबारका लागि आपराधिक प्रयोजनले बनाइएका खाताहरू र मोबाइलका एन्ड्रोइड प्याकेज किट (एपीके)को व्यापक प्रयोग भइरहेको छ।
भारतीय अर्थ मन्त्रालयले मार्च २२, २०२५ मा अफशोर अनलाइन संस्थाहरू विरुद्ध कडाइ तीव्र पारिएको खुलासा गर्यो। जसमा करिब ७०० वटा अनुसन्धानमा छन्। हालसम्म ३५७ गैरकानुनी वेबसाइटहरू ब्लक गरिएको छ भने करिब २ हजार वटा बैंक खाताहरू कार्बाहीमा परेका छन्।