BIZMANDU
www.bizmandu.com

ओलीले शिलान्यास गरेका रणनीतिक सडक प्राथमिकतामा, ५ ठूला राजमार्गलाई भन्दा धेरै बजेट

२०८२ जेठ १६

ओलीले शिलान्यास गरेका रणनीतिक सडक प्राथमिकतामा, ५ ठूला राजमार्गलाई भन्दा धेरै बजेट
तस्बिर : रासस।

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ५ वटा ठूला राजमार्गलाई भन्दा निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई करिब सात अर्ब रुपैयाँ बढी बजेट छुट्याएका छन्।

Tata
GBIME
Nepal Life

उनले निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि २१ अर्ब ८ करोड बजेट रुपैयाँ विनियोजन गरेका छन्। ती सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सिर्जित दायित्व फरफारक गर्ने गरी बजेट छुट्याइएको पौडेलले बताए।

उनले पाँचवटा ठूला राजमार्गका लागि १४ अर्ब ९ करोड रुपैयाँ छुट्याएका छन्। मदन भण्डारी राजमार्गलाई २ अर्ब ५१ करोड, कर्णाली राजमार्गलाई २ अर्ब ५६ करोड, कोशी करिडोरलाई २ अर्ब ३३ करोड, हुलाकी राजमार्गलाई ३ अर्ब ५६ करोड र मध्यपहाडी राजमार्गलाई ३ अर्ब ९४ करोड रुपैयाँ छुट्याइएको हो।

प्रधानमन्त्री केपी ओलीले यसअघि आफू सरकारको नेतृत्वमा रहेका बेला २०७७ चैत २१ मा स्रोत सुनिश्चितताविनै निर्वाचन क्षेत्र रणनीतिक सडकको भर्चुअलरुपमा शिलान्यास गरेका थिए।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा अहिलेसम्म काम पूरा भएको छैन।