BIZMANDU
www.bizmandu.com

कर्मचारीको तलबमा अर्थमन्त्रीले बढाए ५ अर्ब बजेट, बैठक र वैदेशिक भत्ताको आकार पनि वृद्धि

२०८२ जेठ १६

कर्मचारीको तलबमा अर्थमन्त्रीले बढाए ५ अर्ब बजेट, बैठक र वैदेशिक भत्ताको आकार पनि वृद्धि
कर्मचारीको तलबमा अर्थमन्त्रीले बढाए ५ अर्ब बजेट, बैठक र वैदेशिक भत्ताको आकार पनि वृद्धि

काठमाडौं। स्रोतमा चापको कारण देखाएर कर्मचारीको तलब बढाउन अस्वीकार गरेका अर्थमन्त्री विष्णु पौडेलले पारिश्रमिक शीर्षकको बजेट भने ५ अर्ब रुपैयाँ बढाएका छन्।

Tata
GBIME
Nepal Life

कर्मचारीको पारिश्रमिक शीर्षकमा चालु आर्थिक वर्ष १ खर्ब २२ अर्ब ५४ करोड २२ लाख रुपैयाँ छुट्याइएकामा पौडेलले आगामी आर्थिक वर्षका लागि १ खर्ब २७ अर्ब ५३ करोड १३ लाख रुपैयाँ विनियोजन गरेका छन्।

पदाधिकारीको पारिश्रमिक शीर्षकको बजेट भने केही घटेको छ। यो शीर्षकमा चालु आर्थिक वर्ष २ अर्ब ८ करोड ८९ लाख रुपैयाँ बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कर्मचारीका लागि बैठक भत्ताको बजेट पनि बढाइएको छ। चालु आर्थिक वर्ष यो शीर्षकमा २४ करोड ७८ लाख रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षका लागि २५ करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ।

अन्य भत्ता शीर्षकको रकम पनि बढाइएको छ। यो शीर्षकमा चालु आर्थिक वर्ष १ अर्ब ७७ करोड १२ लाख रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षका लागि साढे ४ करोडभन्दा धेरै बढाएर १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ पुर्‍याइएको छ।

पदाधिकारीको पारिश्रमिक शीर्षकको रकम करिब २ करोड घटाइए पनि भत्ता र सुविधाको रकम भने बढाइएको छ।

अर्थमन्त्री पौडेलले पदाधिकारीको बैठक भत्ता ९ करोड ७ लाख बाट ९ करोड ५५ लाख, पदाधिकारीको अन्य सुविधा ४९ करोड ९ लाखबाट ४९ करोड ३७ लाख पदाधिकारीको अन्य भत्ता ३ करोड ४२ लाखबाट ३ करोड ४६ लाख रुपैयाँ पुर्‍याइएका छन्।

स्रोतमा चाप देखाएका अर्थमन्त्रीले वैदेशिक भत्ताको रकम पनि ८९ करोड ८७ लाखबाट १ अर्ब २ करोड ४३ लाख रुपैयाँ पुर्‍याएका छन्।