BIZMANDU
www.bizmandu.com

गाडीमा करका दर नफेरिएकामा नाइमा खुशी, ‘नीतिगत स्थायित्वको अनुभूति भयो’

२०८२ जेठ १६

गाडीमा करका दर नफेरिएकामा नाइमा खुशी, ‘नीतिगत स्थायित्वको अनुभूति भयो’
गाडीमा करका दर नफेरिएकामा नाइमा खुशी, ‘नीतिगत स्थायित्वको अनुभूति भयो’

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवर्धनका लागि सकारात्मक प्रबन्ध गरेको भन्दै आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ।

Tata
GBIME
Nepal Life

नाइमाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सवारीसाधनमा करका दर परिवर्तन नगरिएको भन्दै बजेटको स्वागत गरेको हो। नाइमाले बजेटले नीतिगत स्थायित्वको अनुभूति गराएको र लगानी विस्तारका लागि प्रोत्साहित गरेको बताएको छ।

‘प्रत्येक वर्ष बजेटमार्फत सवारी साधनमा आकर्षित हुने करका दर परिवर्तन भई व्यवसायमा कायम रहेको अनिश्चितता र व्यवसाय सञ्चालनमा देखिने गरेको अस्थिरतालाई चिर्दै यसवर्ष अटोमोबाइलमा आकर्षित हुने गरेको करका दर तथा नीति यथावत कायम गरिएबाट व्यवसायीहरुमाझ नीतिगत स्थायित्वको अनुभूति भइ व्यवसाय विस्तार र प्रवर्धनका लागि थप उत्साह सञ्चार भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले इभीमा करका दर यथावत राखेको छ। यस्तै चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्ग उद्योगका लागि उपकरणमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले स्वदेशमै त्यस्ता मेसिन तथा उपकरण उत्पादन गर्ने उद्योग स्थापना गर्न मद्दत पुग्ने वातावरण तयार भएको नाइमाले बताएको छ।

सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने सवारी फिटनेस केन्द्र स्थापना गर्ने घोषणाको पनि नाइमाले स्वागत गरेको छ।

हाइब्रिड र प्लगइन हाइब्रिड गाडी प्रवर्धनका लागि भने बजेटले प्रोत्साहन नगरेको नाइमाको गुनासो छ।