काठमाडौं। ट्रेड टावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले बुधबारदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुलाएको हो।
कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँड गरेपछि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरेको छ।
लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। जेठ १९ गतेसम्म सेयर निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
ट्रेड टावरले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको कुल ४८.६९ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ निष्कासन अनुमति पाएको छ।
कुल निष्कासनमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई वितरण गरेको थियो। यो वर्ष पुससम्म ५ करोड ६० लाख रुपैयाँ सञ्चित नाफामा रहेको विवरण कम्पनीले पेस गरेको छ। यस अवधिमा प्रति सेयर आम्दानी १.८८ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११३.३९ रुपैयाँ छ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै २०७९ असारमा सेबोनमा आवेदन दिएकामा गत चैत २५ गते स्वीकृति पाएको थियो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।